एउटै शवमा ३ परिवारले दाबी गरेपछि…

विजय नेपाल १५ भदौ २०८३ १०:४६ | Monday, August 31, 2026
एउटै शवमा ३ परिवारले दाबी गरेपछि…

पोखरा-  भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये १०२ शव पोखरा ल्याइएकामा १५ शव पहिचान गरी परिवार तथा आफन्तको जिम्मा लगाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आइतबार साँझसम्म १५ जनाको शव पहिचान गरी तिनका परिवार र आफन्तले बुझेका हुन् ।

जसमा भक्तपुर नगरपालिका–९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापति, नवलपुरका ३७ वर्षीय यादव भण्डारी, इलामको सुन्दकपुर–३ का ३८ वर्षीय दिवानन्द सुवेदी, हेटौंडा–५ का ३६ वर्षीय उद्धव खड्का, अर्घाखाँचीको पाणिनी–७ निवासी ४५ वर्षीय नारायणबहादुर थापा, धादिङ खनियाबास–५ निवासी ४२ वर्षीय सन्जोग घर्तीमगर, नुवाकोट विदुर–७ निवासी ४५ वर्षीया शारदा ढकाल रहेका छन् ।

त्यस्तै, सनाखत हुनेमा पाल्पाको तानसेन–१० निवासी ३४ वर्षीय दीपेन्द्र बिष्ट, गोरखा पालुङटार–६ निवासी ५५ वर्षीय यमबहादुर थापा, नुवाकोट विदुर–१० निवासी ५ वर्षीय प्रतिन्स तामाङ, रसुवाको बेत्रावती बजार बस्ने ३ वर्षीय प्रभाष भन्ने पुरुषोत्तम रैला, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल–६ निवासी ४६ वर्षीय डिकबहादुर कायस्थ, सप्तरीको खडक–५ निवासी २८ वर्षीय सन्तोष चौधरी र गोरखाको पालुङटार–५, चारकुने निवासी ४० वर्षीय केदार पण्डितको सनाखत भएको र परिवारजनले बुझेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्राङ्गत बरालले जानकारी दिए ।

पोखरा ल्याइएका १ सय २ शवमध्ये ८७ शवको पोस्टमार्टम भइसकेकोमा अझै १५ जनाको पोस्टमार्टन हुन बाँकी छ । सोमबारसम्म बाँकी १५ शवको पनि पोस्टमार्टम पूरा हुनेछ । करिब २०-२२ शव सग्लो नहुँदा सनाखतमा कठिन हुने सम्भावना छ । अघिकांश आफन्तले शवको पहिचान विभिन्न संकेतबाट पहिचान गरिरहेका छन् । धेरैजसोले कपडा, गहना र ट्याटु तथा अन्य अंगमा भएका संकेतबाट शवको पहिचान गरेका हुन् ।

भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शवमध्ये मणिपाल शिक्षण अस्पतालमा ९ र बाँकी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । गोरखा, तनहुँ, धादिङ, पूर्वी नवलपरासीमा भेटिएका ती शव यहाँ ल्याइएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको शवको फोटो खिचेर डिस्प्लेमा राखेपछि सबैले त्यहीँबाट पहिचानको प्रयास गर्ने गरेका छन् । केहीको हातमात्रै, केही खुट्टामात्रै छन् । धेरै शव सग्लो नभएकाले पहिचानमा मुस्किल भएको छ ।

तर आइतबार एउटा शवमा ३ परिवारले दाबी गरेपछि प्रहरीलाई समेत मुस्किल परेको छ । उक्त शवको फोटो हेरेर ३ परिवारले आफन्तको भएको दाबी गरेपछि दाबी गर्नेमध्ये ६ जनाको डीएनएन नमुना (रगत) लिइएको छ । उक्त नमुना नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

पोखरामा पोस्टमार्टममा फरेन्सिक विशेषज्ञ पनि सँगै खटिएका छन् । डीएनए रिपोर्ट चाहिँ शव पहिचान भएका वा नभएका सबैको लिने गरिएको छ। तर डीएनए नमुनाको रिपोर्ट आउन कति समय लाग्छ भन्ने एकिन नभएको अस्पतालले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८३ १०:४६ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast