काठमाडौँ- रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेश प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेश प्रदेशका १९२ जनामध्ये आइतबार बिहानसम्म यो संख्यामा टेलिफोनमार्फत सम्पर्कमा आएका हुन्।
हालसम्म सप्तरीका ४९, पर्साका ४०, रौतहटका १९, बाराका २५, सर्लाहीका १९, महोत्तरीका १७, धनुषाका १३ तथा सिरहाका १० जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताए।
सम्पर्कविहीनमध्ये पर्साको पोखरिया नगरपालिका ५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका २२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए।
यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका–४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए।
त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका–६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई. विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टी गाउँपालिका युवराज पाण्डे, औरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिबास नगरपालिकाका विकास भारती सम्पर्कमा आएको प्रवक्ता ढकालको भनाइ छ।
यस्तै, धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा, विक्रम ठाकुर, जनकपुरधाम उपमहानगरपालिका–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरुको विवरण संकलन गर्न थालेको छ। बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण संकलन गर्न थालिएको उनले बताए।
मधेशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्।


