राजधानी जोड्ने वैकल्पिक मार्ग तत्काल सञ्चालनमा ल्याउन बाबुरामको आग्रह

हिमाल प्रेस १४ भदौ २०८३ १७:४४ | Sunday, August 30, 2026
राजधानी जोड्ने वैकल्पिक मार्ग तत्काल सञ्चालनमा ल्याउन बाबुरामको आग्रह

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा गत वर्षदेखि देखिएको पहिरोको जोखिम समयमै सम्बोधन नगर्दा अहिले भोटेकोशी महाविपत्तिको बेला राजधानी जोड्ने रणनीतिक महत्त्वको यातायात प्रणालीमा थप संकट सिर्जना भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले कृष्णभीरको पहिरोको जोखिम समयमै व्यवस्थापन गर्न नसक्नु वा सम्भावित वैकल्पिक मार्गको पूर्वतयारी नगर्नु ठूलो कमजोरी भएको उल्लेख गरेका छन्।

उनले पूर्वतर्फको आवागमनका लागि तत्काल बिपी राजमार्ग, कान्तिपथ तथा हेटौँडा-कुलेखानी-काठमाडौँ मार्गको मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। यी मार्गहरू पहिलेदेखि नै संकटग्रस्त र अधुरा रहेकाले तत्काल सुधार गरेर प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

पश्चिमतर्फको आवागमनका लागि भने बेनीघाटबाट गोरखातर्फ हुँदै गोरखा सदरमुकाम भएर आँबुखैरेनी झर्ने वा मध्यपहाडी लोकमार्ग हुँदै पोखरा जाने मार्ग उपयुक्त हुन सक्ने उनले सुझाएका छन्। आवश्यक परे बेनीघाटबाट गोरखातर्फ उपयुक्त स्थानमा बेलीब्रिज राख्ने विकल्प पनि विचार गर्न सकिने उनले उल्लेख गरेका छन्।

दीर्घकालीन समाधानका रूपमा भट्टराईले राजधानीलाई पश्चिमतर्फ जोड्ने वैकल्पिक मार्ग सुदृढ बनाउन मध्यपहाडी लोकमार्गका बाँकी निर्माण कार्य युद्धस्तरमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। त्रिशूली नदीमा बाढीले बगाएका पुलहरू तत्काल बेलीब्रिजमार्फत सञ्चालनमा ल्याएर स्थायी रूपमा पुनर्स्थापना गर्नुपर्ने सुझाव दिएका छन्।

उनले सम्बन्धित निकायलाई समयमै निर्णय र तयारीमा ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित: १४ भदौ २०८३ १७:४४ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast