काठमाडौँ- अविरल वर्षा र सम्भावित बाढी-पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रात्रिकालीन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ।
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै बीपी राजमार्गमा विशेष सावधानी अपनाइएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारु गरिने प्रहरीले जनाएको छ।
रसुवाकाे उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ र यो लामो समयसम्म रहने देखिएको छ। रसुवाका मुख्य राजमार्गहरू साउन १० गतेदेखि नै बाढीका कारण प्रभावित रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन हुँदै पोखरा र काठमाडौँ जाने सवारी साधनहरू भने अहिले पूर्ण रूपमा सुचारु भएका छन्। रसुवा क्षेत्रमा बाढी आएको सूचनापछि केही समय रोकिएका सवारी साधनहरूलाई अहिले गन्तव्यतर्फ जान अनुमति दिइएको छ।


