देशका अधिकांश राजमार्ग ठप्प [सूचीसहित]

हिमाल प्रेस ११ असोज २०८३ १०:४१ | Sunday, September 27, 2026
देशका अधिकांश राजमार्ग ठप्प [सूचीसहित] पहिरोले सडक अवरुद्ध । फाइल तस्बिर

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोले मुख्य राजमार्ग, राष्ट्रिय लोकमार्ग र भित्री सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरी तथा स्थानीय प्रशासनद्वारा जारी पछिल्लो विवरण अनुसार धादिङको बेनीघाट रोराङ (कृष्णभीर) तथा गजुरी क्षेत्र र तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार तथा चुनपहरामा ठूलो पहिरो जाँदा राजमार्ग दुवै तर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

बीपी राजमार्गको काभ्रेको रोशी गाउँपालिका स्थित चारसयवेशी र गिम्दीवेशीमा माथिबाट पहिरो जाँदा सडक दुवै तर्फ पूर्ण अवरुद्ध बनेको छ। साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुली क्षेत्रमा बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
अरनिको राजमार्गको काभ्रेको धुलिखेल (पकुचा) मा पहिरो जाँदा बाटो दुवै तर्फ अवरुद्ध भएको छ।

कान्ति लोकपथको ललितपुरको बागमती गाउँपालिका स्थित टाकुर्चे र पाङदुरडोलमा लेदो र भिरबाट ढुङ्गा खसेका कारण कान्ति लोकपथ पूर्ण रूपमा ठप्प छ। त्रिभुवन राजपथको त्रिभुवन राजपथमा साना तथा यात्रुवाहक सवारी साधनका लागि निश्चित समय तालिका तोकिएको छ भने १० चक्काभन्दा लामा र १५ टनभन्दा भारी मालवाहक सवारी (इन्धन/ग्यास) बाहेक लाई पूर्ण निषेध गरिएको छ।

टोखा-छहरे सडक वर्षातका कारण जोखिम बढेकाले अर्को सूचना नभएसम्मका लागि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नारायणगढ-मुग्लिन सडकको चितवन र आसपासका क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द गरिएको छ।

पासाङ ल्हामु राजमार्ग तथा रसुवागढी नाकाको रसुवाको उत्तरगया (खाल्टे) मा त्रिशूली नदीको कटान र बाढीका कारण पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा नष्ट भएको छ। हाल स्याफ्रुबेँसी जानका लागि टोखा-छहरे, बिदुर, नुवाकोट दरबार, लच्याङ, कालिकास्थान हुँदै धुन्चे जाने एकलेनको वैकल्पिक कच्ची बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

सिद्धिचरण लोकमार्गको ओखलढुङ्गाको भँडारे खोलामा आएको लेदो बाढीले करिब १५ मिटर सडक क्षति पुर्याउँदा लोकमार्ग अवरुद्ध भएको छ। साथै, उदयपुर र सोलुखुम्बु खण्डमा समेत रातको समयमा आवागमन बन्द गरिएको छ।

कोशी प्रदेशका भित्री सडकहरूको ताप्लेजुङ, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका मुख्य तथा भित्री सडकहरूमा साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेश अन्तर्गत सिद्धार्थ राजमार्गको स्याङ्जाको पुतलीबजार (तिनधारे) मा पहिरो जाँदा राजमार्ग पूर्ण अवरुद्ध भएको छ।

मध्यपहाडी लोकमार्गको बागलुङ निसिखोला  कानाबगर र पर्वतको कुश्मा (तमादी खोला) मा लेदो पहिरो खस्दा सडक ठप्प भएको छ। पर्वत खण्डमा रातिको समयमा आवागमनमा प्रतिबन्ध लगाइएको छ।

बेँसीसहर-मनाङ सडकको खरखरे भिर र मनाङको खोत्रोमा पहिरो जाँदा बेँसीसहर-मनाङ सडक पूर्ण रूपमा बन्द भएको छ। मनाङमा साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म रात्रीकालीन सवारीमा रोक लगाइएको छ।

बेनी-जोमसोम तथा जोमसोम-कोरला सडकको म्याग्दीको बैसरी र सुकेबगरमा पहिरो जाँदा बेनी(जोमसोम सडक अवरुद्ध छ। यस्तै, मुस्ताङको कालोभिर र सेल्फीडाँडामा लेदो खस्दा जोमसोम-कोरला सडक खण्ड ठप्प छ।

कास्की, मुस्ताङ र म्याग्दीमा सम्भावित जोखिम न्यूनीकरणका लागि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

राप्ती राजमार्ग र दाङका सडकहरूस् दाङको ग्वारखोला स्थित पुरानो पुलको मुनिको माटो खस्दा तुलसीपुर-घोराही सडक बन्द भएको छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-कपुरकोट, भालुवाङ-गनाहा खोला, घोराही-होलेरी र तुलसीपुर-कालीमाटी सडक खण्डमा बेलुका ५:०० देखि बिहान ६:०० बजेसम्म आवागमन बन्द गरिएको छ। सल्यानको खारखोलामा समेत पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध छ।

 

 

प्रकाशित: ११ असोज २०८३ १०:४१ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast