शवगृह भरिए, आफन्तको जिम्मा नलगाई गाड्न थालियो, २३६२ अझै बेपत्ता

हिमाल प्रेस १३ भदौ २०८३ २१:५४ | Saturday, August 29, 2026
शवगृह भरिए, आफन्तको जिम्मा नलगाई गाड्न थालियो, २३६२ अझै बेपत्ता तस्बिर : नेपाल प्रहरी

काठमाडौँ- शनिबार अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६ सय ६९ वटा शव फेला परेका छन्। नेपाल प्रहरीका अनुसार एक सय ४८ महिला,  दुई सय ६८ पुरुष, २२ बालिका, २० बालक र दुई सय ११ आंशिक अंगसहितको शव फेला परेको हो।

रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा दुई सय ४८, गोरखामा ५४, तनहुँमा ३१, नललपरासी पूर्वमा एक सय ५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला परेको प्रहरी तथ्यांक छ।

फेला परेकामध्ये २० वटा शव आफन्तको जिम्मा लगाइएको छ। प्रभावित जिल्लामा फरेन्सिक चिकित्सकको अभाव हुँदा शवको व्यवस्थापनमा समस्या पैदा भएको छ।

शव भण्डारणका लागि पर्याप्त ‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा प्रहरीलाई ती शव सुरक्षित राख्न ‘हम्मेहम्मे’ परेको छ। अस्पतालका शव गृह भरिएका छन्। शव भण्डारणमा समस्या देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार केही शव जमिनमा गाडेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले बाढीमा परेर निधन भएका व्यक्तिको शव व्यवस्थापन चुनौतीका रूपमा देखिएको बताउँछन्। ‘शव व्यवस्थापनका लागि चाहिने ‘रेफ्रिजरेटिङ कन्टेनर’को निकै जरुरी देखिएको छ,’ उनले भने, ‘हामीले यसबारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग पहल गरिरहेको छौँ।’

बाढीले बगाएर ल्याएका शवको सुरक्षित व्यवस्थापनमा ढिलाइ हुँदा महामारी फैलनसक्ने चिकित्सकको चेतावनी छ। फेला परेका कतिपय शव पहिचान हुनै नसक्ने अवस्थामा छन्। कतिपय स्थानमा त मानव अंग मात्रै फेला परेका छन्।

शव संकलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवको तस्बिर ट्यागसहितको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।

शवहरूको फोटो र डीएनएको नमुना लिएर मात्र व्यवस्थापन गर्न लागिएको हो। शव व्यवस्थापनका लागि भरतपुर १ स्थित रामनगर देवघाट सडकको बीच जंगल क्षेत्रलाई शव व्यवस्थापन गर्ने स्थलको रूपमा चयन गरिएको छ।

जंगल क्षेत्रमा शव व्यवस्थापनका लागि आवश्यक कार्य समेत सुरु गरिएको छ। चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये ८ वटा मात्र पहिचान भएका छन् भने २२५ शव अझै पहिचान हुन सकेका छैनन्।

शव/शवका अवशेष सड्ने–गल्ने अवस्थामा पुगेकाले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तत्काल व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

के भन्छ राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्र?

परिवारको जिम्मा नै नलगाई शव गाड्न लागिएको भन्दै सरकारको चर्को विरोध भएको छ। आफन्त गुमाएकाहरूलाई शव पहिचानको समय मौका नदिइ गाड्न थालिएको भन्दै विरोध सुरू भएको हो।

तर, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रले शव नष्ट नगरेर पहिचान सुरक्षित गर्न शव व्यवस्थापन गर्न लागिएको जनाएको छ।

शव गाड्नु भनेको नष्ट गर्नु नभएको बताउँदै केन्द्रले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन प्रचलित कानुन तथा निर्देशिकाबमोजिम गरिने जनाएको छ। केन्द्रले शव पहिचानका लागि आवश्यक परीक्षण गरी डीएनए सुरक्षित राखिने जानकारी दिएको छ।

त्यस्तै भविष्यमा पहिचान हुन सक्ने संकेत/चिह्न राखी पहिचान भएपछि परिवारलाई हस्तान्तरण गरिने केन्द्रको भनाइ छ। केन्द्रले अपुष्ट सूचना तथा भ्रमपूर्ण सामग्री साझा नगर्न आग्रहसमेत गरेको छ।

हेडक्वार्टरमा उद्धार तथा समन्वय केन्द्र क्रियाशील

प्रहरी हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षक सुदर्शनप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ सञ्चालन गरेर प्रतिकार्यलाई व्यवस्थित बनाइएको छ। विपद् भएकै दिन साँझदेखि यो केन्द्र सञ्चालनमा आएको हो।

केन्द्रले त्यसैदिनदेखि फेला परेका शवको फोटो र भिडियोसहितको विस्तृत विवरण लिने र त्यसको व्यवस्थापनको काम गर्दै आइरहेको छ। यस्तै, बाढीमा परी हराइरहेका व्यक्तिको पनि विवरण लिएर खोज तथा उद्धारमा समन्वयको काम पनि सोही केन्द्रले गरिरहेको छ।

‘शवका तस्बिर र भिडियोलाई हराइरहेका व्यक्तिको विवरणमा ‘म्याचिङ’ गर्ने र मातहतको निकायमा समन्वय गर्ने काम केन्द्रले गरिरहेको छ,’ प्रवक्ता काफ्लेले भने, ‘शवको पहिचान भइसकेपछि कानुनी प्रक्रिया पूरागरी सम्बन्धितलाई हस्तान्तरण गर्दै आएका छौँ।’

कानुनी सहायता तथा मुचुल्का लेखनका लागि प्रभावित जिल्लामा टोली परिचालन गरिएको छ।

दुई हजार बढी व्यक्ति अझै बेपत्ता

भदौ १० गतेको बाढीमा परी एक हजार ८६३ नेपाली र ५२३ विदेशी गरी कुल दुई हजार ३६२ बेपत्ता भएको सरकारी तथ्यांक छ। बेपत्ताको खोजीका लागि रसुवा, नुवाकोट हुँदै त्रिशूलीको तटीय क्षेत्रमा व्यापक रूपमा सुरक्षा फौज परिचालन गरिएका छन्।

हराइरहेका व्यक्तिको खोजीका लागि अनलाइनबाट निवेदन लिएर खोजी तीव्र बनाइएको प्रहरी प्रवक्ता काफ्ले बताउँछन्। विभिन्न अस्पतालमा उपचारार्थ घाइतेको विवरण नेपाल प्रहरीको फेसबुक पेजमा हेर्न सकिने व्यवस्था मिलाइएको छ।

सम्पर्कविहीन प्रहरी कर्मचारी तथा व्यक्तिको खोजतलासका कामलाई पनि निरन्तरता दिइएको उनले बताए।

‘निजका आफन्तसँग समन्वय गरेर, प्रहरीको अभिलेखबाट हुलियासहित तीनपुस्ते निकालेर खोजतलास गरिरहेका छौँ,’ उनले भने।

सम्पर्कविहीन विदेशी पर्यटकको समन्वय तथा विवरण संकलन पर्यटक प्रहरी परिचालन गरिएको छ।

बाढीपछि हालसम्म एक हजार ५०६ पुरुष र ७९५ महिला गरी दुई हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई नुवाकोटमा रहेको नौ वटा ‘होल्डिङ सेन्टर’मा राखिएको छ।

बाढीबाट प्रभावितलाई सुरक्षित आश्रय दिन प्रहरीले नुवाकोट र धादिङमा ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ। हाल धादिङको होल्डिङ सेन्टरमा कसैले पनि आश्रय लिएका छैनन्।

घाइतेको उद्धार र उपचारका लागि नेपाल प्रहरीका २२ वटा मेडिकल टिम फिल्डमा खटिएका छन्। सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारका लागि कुकुर र ड्रोनसहित प्रहरी परिचालन भएको अवस्था छ।

उपकरण नहुँदा उद्धारमा चुनौती

बाढीबाट प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारका लागि आवश्यक उपकरण नहुँदा खोज तथा उद्धारमा चुनौती थपिएको प्रहरीको विश्लेषण छ। बाढी आएको ठाउँमा अझै पनि हिलोको दलदल भएका कारण उद्धारमा समस्या भएको उद्धारकर्मीको भनाइ छ।

‘बाढीले गर्दा दलदल छ, त्यो दलदलमा हिँड्न मिल्ने खालको ‘बुट’, उच्च तौल बहन गर्नसक्ने ड्रोन, ताररहित ट्र्याकिङ उपकरण प्राप्त भएमा अझ प्रभावकारी हुन्थ्यो,’ प्रवक्ता काफ्लेले भने।

पृथ्वी राजमार्ग सञ्चालन

बाढीका कारण अवरोध भएका मुख्य राजमार्गमा सवारी सञ्चालनमा ल्याइएको छ। भदौ १० गतेदेखि अवरुद्ध पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड सञ्चालनमा आएको छ।

विपद्को मौका छोपी चोरी, लुटपाटलगायत आपराधिक गतिविधिको रोकथाम र त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कानुनबमोजिम कारबाही गरिएको उनले जानकारी दिए।

‘महिलाको शवबाट गहना निकाल्नेदेखि बाढीले बगाएर ल्याएको बैंकको भल्ट चोरी गर्नेलाई कारबाही गरिएको छ,’ उनले भने, ‘अप्ठयारो अवस्थामा ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ वा गलत अफवाह फैलाउने व्यक्ति पहिचान गरी कारबाही भइरहेको छ।’

विपद्को विषम् परिस्थितिमा तत्कालै खोज तथा उद्धार, स्वास्थ्य सहायता, राहत वितरण, होल्डिङ सेन्टर व्यवस्थापन, शव संकलन र व्यवस्थापनमा प्रहरी संगठन दिनरात खटिरहेको उनको भनाइ छ।

‘नदी किनारमा रहेका शव ड्रोनमार्फत पहिचान गर्ने, त्यसको आवश्यक कानुनी प्रक्रियाहरू पूरा गर्ने, तस्बिर–भिडियो लिने र नम्बरिङ गर्नेदेखि त्यसलाई सुरक्षितरूपमा अस्पताल पठाउने काम भइरहेका छन्,’ प्रवक्ता काफ्लेले भने।

प्रकाशित: १३ भदौ २०८३ २१:५४ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast