आईएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ सहयोग

हिमाल प्रेस १३ भदौ २०८३ २१:३१ | Saturday, August 29, 2026
आईएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ सहयोग

काठमाडौँ – आईएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।

आईएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आईएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड, आईएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आईएमई फाउन्डेसनलगायत अन्य कम्पनीमार्फत सो सहयोग उपलब्ध गराइएको हो।

त्यसैगरी, आईएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट पनि सबैको एक दिनको तलब बराबरको रकम उपलब्ध गराउने निर्णय भएको ग्रुपले जनाएको छ।

सहयोगस्वरूप भन्दै आईएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको तथा खल्ती आईएमई मोबाइल वालेटमार्फतसमेत सरकारको कोषमा सिधै रकम निःशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ।

यो समूहले आईएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेको छ।

आईएमई ग्रुपले अकल्पनीय विपद्मा बेपत्ताको खोजी, घाइतेहरूको उपचार, प्रभावितका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।

यो समूहले देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा यसअघि पनि आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १३ भदौ २०८३ २१:३१ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast