काठमाडौँ- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ६६९ पुगेको छ।
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट शनिबार साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन्।
विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन्।
रसुवा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।


