काठमाडौँ- भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी प्रभावित जिल्ला र स्थानीय तहका कर्मचारीलाई कार्यस्थल नछोड्न र कार्यस्थल बाहिर रहेकालाई अविलम्ब कार्यस्थलमा फर्कन निर्देशन दिएको छ।
आज बिहान मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठक बसेर रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग तथा समन्वयका लागि कर्मचारीलाई निरन्तर खटाउने निर्णय गरेको हो। यस्तै, मन्त्रालयले बाढी प्रभावित जिल्लाका सबै स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा परिचालित भई प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गर्ने, विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्ने निर्णय लिएको छ।
मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरुमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने र नापी विभागले प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कनको कार्य गर्ने भएको छ।


