नेपाल लाइफले मनायो रजत जयन्ती, ६३७ अभिकर्ता सम्मानित

हिमाल प्रेस ११ भदौ २०८३ १४:४७ | Thursday, August 27, 2026
नेपाल लाइफले मनायो रजत जयन्ती, ६३७ अभिकर्ता सम्मानित

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव अर्थात् रजत जयन्तीको अवसरमा आयोजना गरेको ‘Leadership Excellence Awards 2026’ सम्पन्न गरेको छ।

‘Everest Year- Clouds and Beyond’ नारासहित भदौ ३ गतेदेखि काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमलप्रसाद ढकाल, सञ्चालक प्रबिनप्रकाश क्षेत्री र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

उनले उक्त उपलब्धिको श्रेय अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकको विश्वास र मेहनतलाई दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि ‘Everest Year – Clouds and Beyond’ अभियान अघि बढाइएको जानकारी दिए।

सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी (AML/CFT) प्रावधानको पूर्ण पालना गर्न अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई आग्रह गरे। उनले दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको बताए।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा चित्रण गर्दै आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अत्याधुनिक प्रविधिको प्रयोग, ग्राहकमैत्री डिजिटल सेवा, तथ्यांकमा आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव थप प्रभावकारी बनाउने योजना अघि सारे।

कार्यक्रममा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। नेपालभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कम्पनीका अनुसार २५ वर्षको अवधिमा नेपाल लाइफको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत रहेको छ भने हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरिएको छ।

त्यसैगरी, कम्पनीले हालसम्म ३६२ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको र नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेको जनाएको छ। कम्पनीले यी उपलब्धिलाई ग्राहकको विश्वास, वित्तीय सबलता र नेपाली जीवन बीमा क्षेत्रमा आफ्नो नेतृत्वको आधारका रूपमा प्रस्तुत गरेको छ।

‘Everest Year- Clouds and Beyond’ अभियानमार्फत कम्पनीले आगामी दिनमा ग्राहकको विश्वास, प्रविधि तथा नवप्रवर्तन, उत्कृष्ट सेवा र व्यावसायिक सुशासनलाई प्राथमिकतामा राख्दै नयाँ उपलब्धि र कीर्तिमान कायम गर्ने लक्ष्य अघि सारेको जनाएको छ।

प्रकाशित: ११ भदौ २०८३ १४:४७ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast