काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा.हरिकुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धमा बिमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र त्यसका व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुति दिएका थिए।
उनले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान र अन्तर्राष्ट्रिय रुपमा भइरहेको गतिविधिका विषयमा विस्तृत जानकारी दिए।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण पक्षको रुपमा रहेको बताए। प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउनसक्ने उनको भनाइ थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार पराजुलीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानुनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमा जोड दिए।
कम्पनीले प्रशिक्षणबाट व्यवहारिक ज्ञान प्राप्त गर्दै वित्तीय अपराधहरू न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन सहयोग पुग्ने जनाएको छ।
प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदकारी, आधारभूत सेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।




