बाढीको विनाश : कम्तीमा २२ जनाको मृत्यु, झन्डै पाँच सय जना सम्पर्कविहीन

हिमाल प्रेस १० भदौ २०८३ १७:२१ | Wednesday, August 26, 2026
बाढीको विनाश : कम्तीमा २२ जनाको मृत्यु, झन्डै पाँच सय जना सम्पर्कविहीन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण तनहुँ र चितवन सीमाना भएर बग्ने त्रिशूली नदीमा बुधबार दिउँसो बढेको पानीकाे बहाव र मुग्लिन पुल । तस्बिर : रासस

काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा  बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ३५ जनाको सकुशल उद्धार गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार रसुवामा एक पुरुषको मृत्यु भएको छ।

यसैगरी नुवाकोटमा पाँच महिला र ६ पुरुष गरी ११ जनाले ज्यान गुमाएका छन् भने धादिङमा पाँच महिला र दुई पुरुषसहित नौ जनाको ज्यान गएको छ। दुई जनाको भने लिंग खुलेको छैन। चितवनमा एक महिलाको मृत्यु भएको छ।  शवको सनाखत हुन बाँकी रहेको उनले बताएका छन्।

बाढीमा परी कम्तीमा चार सय ८१ जना बेपत्ता भएका छन्। लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भएका छन्। आयोजना प्रवर्द्धक विजयमोहन भट्टराईका अनुसार टनेलमा काम गरिरहेका ३५ जनासहित २५ जना इन्जिनियर, चालक तथा खाना पकाउने कर्मचारी सम्पर्कविहीन हुन्।

बाढीपहिरोका कारण तीन सय ८४ यात्रु सम्पर्कविहीन भएको पर्यटन बोर्डको प्रारम्भिक विवरण छ। बोर्डका अनुसार सम्पर्कविहीनमध्ये दुई सय ९१ जना विदेशी र ९३ जना नेपाली छन्।

बाढीमा परी नेपाल प्रहरीका २६ जना तथा सशस्त्र प्रहरी र सेनासमेत गरी ४४ जना सम्पर्कविहीन भएको परराष्ट्रमन्त्री शिशिर खनालले संसद् बैठकमा जानकारी दिए।  केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन्।

रसुवा भन्सार प्रमुख राजेन्द्र ढुंगानाका अनुसार पाँचजना कर्मचारी सम्पर्कविहीन छन्। यसैगरी चिलिमे जलविद्युत् आयोजनाका ६ कर्मचारी सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ। नुवाकोटको त्रिभुवन त्रिशूली माविका कैयौँ विद्यार्थी हराएको शंका गरिएको छ। नुवाकोट, रसुवा, धादिङका तटवर्ती क्षेत्रका बजारहरू बाढीले बगाएकाले क्षतिको आकलन गर्न कठिन रहेको अधिकारीहरूले बताएका छन्।

बाढीपहिरोका कारण रसुवाको सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ। बिजुली अवरुद्ध भएपछि जिल्लासँगको सञ्चार सम्पर्क प्रभावित भएको धमलाले जानकारी दिए।

घाइेतहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। बाढीमा परेका ६५ जनाको उद्धार गरिएको धमलाले बताए।  उद्धार गरिएकाहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

बाढीले सयौँ घर तथा सडक बगाएको छ। त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार कम्तीमा ४० किलोमिटर सडकमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त क्षेत्रमा भारी उपकरण तथा मेसिन परिचालन गरी सडक र पुल सञ्चालनयोग्य बनाउने काम अघि बढाइएको न्यौपानेले बताए।

बाढीपहिरोले जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार ११ जलविद्युत् गृह र एउटा सौर्य आयोजनामा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ।

बाढीका कारण छवटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ भने अन्य आयोजना उत्पादन प्रणालीबाट विच्छेद भएका छन्।

प्रत्यक्ष क्षति पुगेका आयोजनामा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन, १४.८ मेगावाटको अपर सान्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली थ्री ‘ए’, १४.८ मेगावाटको अपर मैलुङ, पाँच मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सौर्य प्रणाली छन्।

नेपालसँग सीमा जोडिएको चीनको तिब्बत क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ। तिब्बतका अधिकारीले नेपालसँगको सीमा नजिकैको केरुङ काउन्टीमा पहिरो गएपछि केही मानिस बेपत्ता भएकाले ‘ठूलो मानवीय क्षति’ हुनसक्ने आशंका गरेका छन्।

बाढीपहिरोले सडक, पुल तथा विद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि थप मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै अधिकारीहरूले सतर्कता बढाएका छन्। यस क्रममा त्रिशूली नदीको तटवर्ती क्षेत्रका बासिन्दालाई सुरिक्षत स्थानमा बस्न आग्रह गरिएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार पहिरो नेपालको भूमिमा गएको र त्यसले सिगात्से क्षेत्रस्थित जिरोङ (केरुङ) नाकालाई प्रभावित पारेको छ। पहिरोका कारण सडक, सञ्चार तथा विद्युत् सम्पर्क अवरुद्ध भएको सिन्ह्वाले जनाएको छ।

चीनका राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी तथा उद्धारका लागि ‘सम्पूर्ण प्रयास’ गर्न निर्देशन दिएका छन्। उनले दोस्रो चरणका विपद् रोक्न निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनसमेत आग्रह गरेका छन्।

करिब ५० हजार जनसंख्या रहेको रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा उद्धारका लागि पुगेका हेलिकोप्टरसमेत अवतरण गर्न नसकेको अधिकारीहरूले बताएका छन्। बाढीका कारण नदी सामान्य बहावभन्दा निकै माथि पुगेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका दृश्यमा बाढीको पानीले घर तथा सवारीसाधन बगाएको र फलामे पुलसमेत बगाएको देखिन्छ। प्रत्यक्षदर्शीका अनुसार बाढीको पानीले कतिपय गाउँ नै डुबाएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बाढीबाट ‘ठूलो मानवीय क्षति वा सम्पत्तिको नोक्सानी हुन सक्ने’ बताएका छन्। उनले भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

विभिन्न गाउँ तथा विद्युत् आयोजनास्थलसमेत बाढीले बगाएको खबर आएको उनले बताए।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बाढीको पानी नघटेसम्म प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर अवतरण गर्न नसकिने बताएका छन्।

बाढीको तत्कालीन कारण स्पष्ट भइसकेको छैन। गत वर्ष यही नदीमा आएको विनाशकारी आकस्मिक बाढीको कारण हिमताल फुटेर पानी बाहिरिनु रहेको पाइएको थियो।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी तथा सुरक्षा निकाय उद्धार कार्यमा परिचालन भएको बताएका छन्। तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको उल्लेख गर्दै उनले नदी किनारका बासिन्दालाई थप सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका छन्।

तिब्बतबाट बग्ने भोटेकोशी नदी नेपाल प्रवेश गरेपछि त्रिशूली नदीमा मिसिन्छ। त्रिशूली नदी भारत पुगेपछि गण्डक नदीका रूपमा बग्छ।

गत वर्ष भोटेकोशीमा आएको बाढीमा नौ जनाको मृत्यु भएको थियो भने २४ जना बेपत्ता भएका थिए। बाढीले नेपाल र चीन जोड्ने मितेरी पुलसमेत बगाएपछि महिनौँसम्म दुई देशबीचको व्यापार तथा यातायात प्रभावित भएको थियो। रासस र सिन्ह्वाको सहयोगमा

प्रकाशित: १० भदौ २०८३ १७:२१ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast