रसुवा बाढी : के भन्छन् प्रधानमन्त्री?

हिमाल प्रेस १० भदौ २०८३ १०:४१ | Wednesday, August 26, 2026
रसुवा बाढी : के भन्छन् प्रधानमन्त्री?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सुरक्षा निकाय, विपद् व्यवस्थापन निकाय र स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक कदम अघि बढाइएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन भइसकेको जानकारी दिए।

अन्य जिल्लाबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री बालेनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय रहेको र मेडिकल टोली, नेपाल स्काउट तथा नेपाल रेडक्रससँग समन्वय गरेर आवश्यक काम भइरहेको बताएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने तयारी पनि अघि बढाइएको उनको भनाइ छ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको उनले बताएका छन्।

एसएमएस र फोन कलमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सचेत गराउने काम भइरहेको पनि उनले उल्लेख गरेका छन्।

उनले सम्भावित उद्धार र राहत कार्यलाई ध्यानमा राख्दै सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको र निजी हेलिकप्टर कम्पनीलाई पनि तयारी अवस्थामा रहन जानकारी गराइएको बताएका छन्। उनका अनुसार आगामी आवश्यक निर्णयका लागि केहीबेरमै उच्चस्तरीय बैठक बस्नेछ।

सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै उनले आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित निकायबाट आउने उद्धारसम्बन्धी अद्यावधिक जानकारी कुर्न अनुरोध गरेका छन्।

थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।

प्रकाशित: १० भदौ २०८३ १०:४१ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast