काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन्।
सोमबार नेपाल जनप्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकासको चाहनालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने भन्दै सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन केवल आर्थिक विकासको सूचकबाट मात्र हेर्न नहुने बताए।
राष्ट्रपति पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको अलिक बढी खाँचो भएको उल्लेख गर्दे सार्वजनिक जीवनदेखि सामाजिक व्यवहारसम्म इमान्दारीता, जिम्मेवारी र नैतिक आचरण कायम हुनुपर्ने धारणा व्यक्त गरे।
उनले लोकतन्त्र, सुशासन र सामाजिक सद्भावलाई बलियो बनाउन नागरिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आचरण महत्वपूर्ण हुने भन्दै नैतिकता र इमान्दारीता कमजोर हुँदा राज्यका विभिन्न क्षेत्रमा जनविश्वाससमेत प्रभावित हुन सक्ने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
डा.रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मानबाट सम्मानित गरिएको थियो।


