काठमाडौँ- नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ।
स्व. प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति गगनकुुमार थापाले अध्ययनका चार प्रमुख क्षेत्रमा चार जनालाई सो फेलोसिप प्रदान गर्ने घोषणा गरे।
‘अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिनेछ, पहिलो नेपाली राजनीति, गणतन्त्र र संघीयता, दोस्रो समावेशिता र सामाजिक न्याय, तेस्रो साहित्य, दर्शन र विचारको इतिहास र चौथो विषय युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवर्द्धन रहनेछन्,’ सभापति थापाले भने।
प्रदीप गिरीलाई सम्झनु केवल उनका विचारहरू स्मरण गर्नु मात्रै नभएर उनले रोजेको अध्ययन, प्रश्न र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि रहेको थापाले बताए।
‘प्रदीप गिरिका लागि अध्ययन र लेखन जीवनका अभिन्न हिस्सा थिए, समाजको सबैभन्दा कमजोर, सीमान्तकृत र पछाडि पारिएका नागरिकको पक्षमा निर्भीकतापूर्वक उभिने उहाँको प्रतिबद्धता त्यत्तिकै महत्त्वपूर्ण थियो, यिनै दुई मूल भावनालाई केन्द्रमा राखेर हामीले यो फेलोसिपलाई विचार, अध्ययन र अनुसन्धान तथा कर्म, न्याय र अभियानु गरी दुई आधारमा अघि बढाएका छौँ,’ सभापति थापाले भने।
उनले कुनै विचारकप्रति सबैभन्दा सार्थक श्रद्धाञ्जली उनका विचारलाई स्मारकमा मात्र सीमित नगरी नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, तिनलाई प्रश्न गर्ने र अझ अगाडि लैजाने अवसर सिर्जना गर्नुपर्ने बताए।


