काठमाडौँ- बागमती प्रदेश सरकारमा मन्त्री बनेका तीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकारमा मन्त्री पदको शपथ लिएको भन्दै नवनियुक्त मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
पार्टीको केन्द्रीय अनुशासन समितिले तीनै सांसदलाई ‘किन कारबाही नगर्ने?’ भन्दै १२ घण्टाभित्र स्पष्टिकरण पेश गर्न समय दिएको राप्रपा प्रवक्ता मोहनबहादुर श्रेष्ठले जानकारी दिए।
यसअघि राप्रपाले संसदीय दलका नेताको निजी लेटरप्याड प्रयोग गरी बागमती प्रदेश सरकारलाई पार्टीको तर्फबाट समर्थन गरेको भन्दै प्रदेश सभा सदस्य उद्धव थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेश सभा सदस्य पदबाट समेत पदमुक्त गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय र पार्टीको निर्देशनबारे जानकारी हुँदाहुँदै राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको राप्रपाको भनाइ छ।
पार्टी निर्णय उल्लंघन गरेको निष्कर्षसहित अनुशासन समितिले उनीहरूबाट स्पष्टीकरण मागेको हो। तोकिएको समयभित्र प्राप्त हुने स्पष्टीकरणका आधारमा थप कारबाहीबारे निर्णय गरिने जनाइएको छ। बिहीबार ९हिजो० मुख्यमन्त्री किरण थापाको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई मन्त्री नियुक्त गरेर सपथ खुवाएका हुन्।
बिष्ट खानेपानी तथा ऊर्जा सिँचाइ मन्त्री बनेका छन् भने प्रजापति उद्योग पर्यटन, श्रम तथा यातायात मन्त्री बनेका हुन्। यस्तै राप्रपा संसदीय दलका उपनेता समेत रहेका गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास मन्त्री बनेका हुन्।


