म्याग्दी- म्याग्दीबाट एक वर्षमा करिब ७३ करोड रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ।
कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख रुपैयाँको सुन्तला बिक्री भएको हो।
यस अवधिमा चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन तथा कारोबार भएको कार्यालयले जनाएको छ। सुन्तला प्रतिकिलो ७५ रुपैयाँ र आलु ३० रुपैयाँका दरले बिक्री भएको थियो।
कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा खासै परिवर्तन नभए पनि वैशाख-जेठमा परेको असिनाले आलुमा क्षति पुर्याउँदा करिब २० करोड रुपैयाँ बराबरको उत्पादन घटेको छ।
म्याग्दीको आलु र सुन्तला बेनीसँगै पोखरा, काठमाडौं र चितवनका बजारमा बिक्री हुने गरेको छ। सडक सञ्जाल विस्तारसँगै गाउँमा उत्पादन भएका कृषि उपजले बजार पाउन थालेका छन्।


