स्याङ्जा- स्याङ्जामा अगौटे जातको ‘उन्सु’ सुन्तलामा पहिलो पटक सुँडे पुतलीको प्रकोप देखिएको छ।
पुतलीबजार-१४ सतौंका कृषक हुमनाथ ढकालको बगैंचामा यो प्रकोप पुष्टि भएपछि कृषकलाई तत्काल रोकथामका उपाय अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यो कीराले बेलुका र बिहान फल चुसेर ४८ घण्टाभित्र झार्ने गर्छ। ‘समयमै रोकथाम नगरे ठूलो क्षति हुन सक्छ,’ उनले भने।
कार्यालयले झरेका फल संकलन गरेर गाड्ने, टर्चको उज्यालोमा कीरा समातेर नष्ट गर्ने र पासो प्रयोग गर्ने उपाय अपनाउन सुझाव दिएको छ।
प्रभावित क्षेत्रमा प्राविधिक टोलीले निगरानी र नियन्त्रण अभियान पनि सुरु गरेको छ।
प्रकाशित: ५ भदौ २०८३ ६:४५ | Friday, August 21, 2026
प्रतिक्रिया


