काठमाडौँ- बंगलादेशको सत्तारुढ दल बंगलादेश नेश्नालिस्ट पार्टी (बीएनपी) का वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगीर राष्ट्रपतिमा निर्वाचित भएका छन्।
७८ वर्षीय मिर्जा बिहीबार बंगलादेशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
सन् १९९१ पछि बंगलादेशमा राष्ट्रपति पदका लागि भएको यो पहिलो प्रतिस्पर्धात्मक चुनाव हो। विगत केही दशकदेखि प्रायः सर्वसम्मत वा निर्विरोध रूपमा राष्ट्रपति निर्वाचित हुँदै आएका थिए।
मुख्य निर्वाचन आयुक्त ए.एम.एम.नासिर उद्धिनका अनुसार मिर्जाले २५५ मत प्राप्त गरी विजय हासिल गरेका हुन्।
उनले आफ्नो प्रतिद्वन्द्वी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष एवं जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्नल ओली अहमदलाई पराजित गरे।
प्रतिस्पर्धी ओली अहमदले ८८ मत प्राप्त गरेका छन्।
कुन ३४९ दर्ता भएका मतदातामध्ये ३४३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए भने ६ सांसद अनुपस्थित रहे।
पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दिनले आफ्नो पाँच वर्षको कार्यकाल पूरा हुनुअघि नै गत महिना स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि राष्ट्रपति पद रिक्त भएको थियो।
नवनिर्वाचित राष्ट्रपति मिर्जाले शुक्रबार साँझ बंगभवनको दरबार हलमा आयोजना हुने विशेष समारोहमा बंगलादेशको नयाँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।


