फाइल तस्बिर
काठमाडौँ- देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।
कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, इलामको मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, यी दुवै स्थानमा वैकल्पिक बाटोको व्यवस्था रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशका सडकहरूमा बढी जोखिम देखिएको छ। काभ्रेको बिपी राजमार्गमा सम्भावित बाढीका कारण राति १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थितिको विचार गरी सञ्चालन गरिनेछ। मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा-छहरे सडक खण्डमा पनि रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गण्डकी प्रदेशको लमजुङस्थित बेंसीशहर-मनाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। बागलुङको कालीगण्डकी करिडोर र मुस्ताङको बेनी-जोमसोम तथा जोमसोम-कोरला सडक खण्डहरू पहिरो र बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
यता कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट-डोल्पा सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


