काठमाडौँ- प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले शुक्रबार पश्चिम सुर्खेतको चौकुने र बराहतालका जंगलबाट ती बन्दुक बरामद गरिएका हुन् ।
उनका अनुसार, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाही कमाण्डमा प्रहरी टोली खटिएको थियो । जस अन्तर्गत चौकुने गाउँपालिका —७ सान्नेघारीको जंगलमा लुकाईछिपाई राखेको अवस्थामा ५ थान भरुवा बन्दुक भेटिए ।
चौकुने गाउँपालिकाकै वडा नम्बर १ धामिसेनस्थित जंगलमा १२ थान बन्दुक लुकाईछिपाई राखेको अवस्थामा भेटिए । यता प्रहरी चौकी रानिघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका—१, मा रहेको ज्यामिरे जंगलमा १ थान बन्दुक लुकाईछिपाई राखेको अवस्थामा फेला पार्यो ।
अहिले ती बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बोहोराले बताए।



