कर्णालीमा एमालेका तीन मन्त्रीले लिए शपथ

हिमाल प्रेस ३ भदौ २०८३ २०:०८ | Wednesday, August 19, 2026
14
SHARES
कर्णालीमा एमालेका तीन मन्त्रीले लिए शपथ

सुर्खेत- कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सत्तारूढ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि तीन सातापछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको हो।

एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, जितबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

नवनियुक्त तीनै मन्त्रीलाई बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्रालय बाँडफाँटमा भएको सहमतिअनुसार एमालेले तीन मन्त्रालय पाएको हो। एमालेले आफ्ना मन्त्रीको टुंगो लगाए पनि नेकपाले पाएका तीन मन्त्रालयमा भने अहिलेसम्म मन्त्री छनोट गरेको छैन।

लामो समयदेखि मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि सरकार विस्तारको बाटो खुलेको हो।

प्रकाशित: ३ भदौ २०८३ २०:०८ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast