काठमाडौँमा एनडीटीभी अन्भिक्षा : जेनजी आन्दोलनपछिको नेपाल-भारत ‘ट्र्याक टू’ संवाद

हिमाल प्रेस ३ भदौ २०८३ २०:२५ | Wednesday, August 19, 2026
14
SHARES
काठमाडौँमा एनडीटीभी अन्भिक्षा : जेनजी आन्दोलनपछिको नेपाल-भारत ‘ट्र्याक टू’ संवाद

काठमाडौँ- छिमेकी भारतको चर्चितमध्येको एक सञ्चार संस्था एनडीटीभीले आफ्नो नयाँ विश्वव्यापी संवाद शृंखला ‘एनडीटीभी अन्भिक्षा : सीमापार अवधारणा’ एक वैचारीक बहस कार्यक्रम काठमाडौँमा आयोजना गर्दैछ। ‘नेपाल-भारत संवाद’ को रुपमा आगामी ११ गते काठमाडौँमा यो कार्यक्रम हुने निश्चित भएको हो।

नेपाल-भारत सम्बन्ध, क्षेत्रीय भूराजनीति र बदलिँदो दक्षिण एसियाली शक्ति समीकरणमाथि गम्भीर अनौपचारिक संवादको महत्त्वपूर्ण मञ्चका रूपमा यो संवाद कार्यक्रमलाई हेरिएको छ। भारतमा रहेर ‘ट्र्याक टू’ कूटनीतिमा संलग्न हुँदै आएकाहरुले काठमाडौँलाई यो क्षेत्रको राजधानीको रुपमा लिँदै यस्तो आयोजना गर्न लागेका हुन्।

यसलाई सामान्य टेलिभिजन बहसको रुपमा नभएर नाम चलेको टेलिभिजन सञ्चालक संस्थाले गर्न लागेको वैचारीक बहसको रुपमा नेपाल सरकारले समेत लिएको देखिन्छ। सरकारबाटै दुई मन्त्री यो कार्यक्रममा सहभागी हुनेछन्। तर भारतबाट भने मन्त्रीस्तरीय सहभागीताको भने टुंगो लागेको छैन्।

एनडीटीभीका अनुसार यसको मुख्य उद्देश्य नै ‘कुनै देशलाई बाहिरी दृष्टिकोणबाट मात्र नहेरी, त्यो देशले आफूलाई कसरी बुझ्छ, आफ्नो भविष्य कस्तो बनाउन चाहन्छ र संसारलाई कसरी हेर्छ’ भन्ने विषय त्यही देशकै आवाजबाट सुन्नु हो।

‘अन्भिक्षा’ शब्द प्राचीन भारतीय परम्पराको ‘अन्विक्षिकी’ (तर्क, चिन्तन र परीक्षाबाट ज्ञान खोज्ने प्रक्रिया) बाट लिइएको हो। यस शृंखलाले विभिन्न देशहरूमा गएर त्यहाँका विचार, महत्वाकांक्षा र चिन्तालाई केन्द्रमा राख्ने योजना बनाएको छ। नेपाल यसको पहिलो गन्तव्य हो।

एनडीटीभीले विश्व सम्मेलनहरू गर्दै आएको छ। एनडीटीभीले विगत केही वर्षदेखि उच्चस्तरीय विश्व सम्मेलनमार्फत विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा प्रभावशाली संवादको आयोजना गर्दै आएको छ। दुई वर्षअघि नयाँदिल्लीमा नै पहिलो एनडीटीभी विश्व सम्मेलन भएको थियो। त्यसलाई ‘दी इन्डिया सेन्चुरी’ नाम दिइएको थियो।

त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन, विदेशमन्त्री एस. जयशंकर लगायत विश्वका नेता, कूटनीतिज्ञ र अर्थशास्त्री सहभागी थिए।

गत वर्ष दोस्रो संस्करण आयोजना गरेको एनडीटीभीले ‘अज्ञातको सङ्घारमा : जोखिम, सङ्कल्प र पुनर्निर्माण’ नारा नै तय गरेको थियो। जहाँ विश्व व्यवस्थाका चुनौती, प्रविधि, वातावरण र राजनीतिक परिवर्तनमाथि बहस केन्द्रित भएको थियो।

काठमाडौँमा हुने यो कार्यक्रममा ती विश्व सम्मेलनलाई दक्षिण एसियाको अर्को महत्त्वपूर्ण राजधानीसम्म विस्तार गर्ने प्रयास रहेको पनि उल्लेख छ। सार्कको सचिवालय काठमाडौँमा भएकाले पनि काठमाडौँ यो क्षेत्रको राजधानी हो। सोही कारण यो बहस सबैलाई जोड्न महत्वपूर्ण रहनेछ।

कार्यक्रममा भारत र नेपालका राजनीतिक, कूटनीतिक, आर्थिक, सांस्कृतिक र खेलकुद क्षेत्रका प्रभावशाली व्यक्तित्व सहभागी हुनेछन्। नेपालबाट परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका सभापति गगन थापा, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, कन्फेडेरेसन अफ नेपालीज इन्डष्ट्रिजका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल-भारत च्याम्बरका उपाध्यक्ष गौरव तयल, पूर्वक्रिकेटर पारस खड्का र अभिनेता राजेश हमाल कार्यक्रममा सहभागी हुने तय भएको छ।

भारततर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कांग्रेस नेता तथा लेखक डा. शशि थरूर, इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य डा. विनय सहस्रबुद्धे, भाजपा विदेश विभागका संयोजक डा. विजय चौथाइवाले छन्।

साथै अभिनेत्री मनीषा कोइराला, रणनीतिक विशेषज्ञ डा. निश्चलनाथ पाण्डेलगायत अन्य थिंक ट्यांकका व्यक्तित्वको पनि सहभागिता हुने भएको छ। यसबाहेक थप व्यक्ति सहभागी सूचीमा पर्न सक्ने बताइएको छ।

जेनजी आन्दोलनपछि यस्तो बहसको थप महत्त्व बढेको देखिन्छ। जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्य पूर्ण रूपमा बदलिदियो। भ्रष्टाचार, बेरोजगारी र शासन प्रणालीविरुद्ध युवाहरूको आन्दोलनपछि तत्कालीन सरकार ढल्यो, अन्तरिम व्यवस्था आयो र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन भयो। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो जित हासिल गर्‍यो।

अहिले नयाँ पुस्ताको आकांक्षा, सुशासन र आर्थिक अवसरको माग तीव्र छ। यस्तो बेला भारतका सत्तारुढ भाजपा र प्रमुख विपक्षी कांग्रेसका प्रभावशाली नेताहरू तथा नेपालका नयाँ राजनीतिक शक्तिका प्रतिनिधि एकै मञ्चमा आउनु महत्त्वपूर्ण छ। यसले जेनजीपछिको नेपाललाई अन्तर्राष्ट्रिय संवादमा सक्रिय ‘कनभर्सेसन स्पेस’ बनाउने अवसर दिन्छ।

भूराजनीतिक असर नेपाल-भारत सम्बन्ध खुला सीमा, व्यापार, ऊर्जा, पारवहन, सुरक्षा र जनस्तरको गहिरो सम्बन्धले संवेदनशील रहँदै आएको छ। पछिल्लो समय भारत-चीन प्रतिस्पर्धा, ऊर्जा व्यापार र क्षेत्रीय कनेक्टिभिटीका कारण नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ। यो संवादले व्यापार- लगानी, ऊर्जा सहकार्य, पर्यटन, प्रविधि र क्षेत्रीय सुरक्षाजस्ता विषयमा व्यावहारिक छलफल गर्ने अपेक्षा गरिएको छ।

यसले नेपाललाई केवल ‘छिमेकी शक्तिको चासोको भूगोल’ मा सीमित नराखी, दक्षिण एसियाली र अन्तर्राष्ट्रिय संवादलाई प्रभावित गर्ने सक्रिय खेलाडीका रूपमा प्रस्तुत गर्ने मौका दिएकोले यसको उपयोग नेपालले राम्रोसँग गर्न सक्नुपर्ने यसमा सहभागी हुनेहरुको धारणा छ। एनडीभीको यो मञ्च अनौपचारिक भए पनि नीति निर्माता, राजनीतिक नेतृत्व र नागरिक समाजबीच विश्वास निर्माणमा सहयोगी हुन सक्छ।

भदौ ११ अर्थात २७ अगस्तमा काठमाडौँमा हुने याे संवादले एउटा ठूलो प्रश्न उठाउनेछ- जेनजी आन्दोलनपछिको नयाँ नेपालले आफ्नो स्थान कसरी परिभाषित गर्छ? एनडीटीभी त्यो प्रश्नको जवाफ खोज्ने एउटा महत्त्वपूर्ण मञ्च बनेको र त्यसमा बहस गर्नेहरुले कसरी देशलाई प्रस्तुत गर्छन् त्यो पनि बहस कै विषय हुनेछ।

यही स‌ंवाद र बहसको खोजीमा एनडीटीभीले यस्तो कार्यक्रम गर्दै अघि बढेको देखिन्छ। कतिपयले यो सम्मेलन र बहसलाई  भारतीय सत्तारुढ दल भाजपासँगै जोडेर पनि हेरेका छन्।

प्रकाशित: ३ भदौ २०८३ २०:२५ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast