काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाँदर र बँदेलका कारण किसानले भोग्नुपरेका समस्यादेखि बाढीपहिरो, शान्ति सुरक्षा तथा महिला र बालबालिकामाथि हुने हिंसाका विषय उठाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले अविरल वर्षाका कारण विभिन्न स्थानमा भएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
सांसद केपी खनालले कैलालीको सामुदायिक वनमा ४२ वर्षीय पदम विश्वकर्माको गोली हानी हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
सांसद अरविन्द साहले बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिका मृत अवस्थामा भेटिएको घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरे।
उनले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै सीसीटीभी क्यामेरा जडान तथा सडक र सार्वजनिक स्थानमा बिजुलीका पोलमा बत्तीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद यज्ञबहादुर बोगटीले अछामको मंगलसेन नगरपालिका-३ मा बुधबार बिहान जंगली बँदेल गाउँमा पसेर पाँच जनालाई घाइते बनाएको विषय उठाए। उनले घाइतेको निःशुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।
बाँदर र बँदेलका कारण किसान लामो समयदेखि समस्यामा परेको विषय पटकपटक संसद्मा उठाउँदा पनि समाधान हुन नसकेको भन्दै बोगटीले सरकारको ध्यानाकर्षण गराए।
सांसद रहबर अन्सारीले बाराको जितपुरसिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले खोजतलासमा ढिलाइ गरेको टिप्पणी गरे। उनले यस्ता घटनामा प्रहरीले तत्काल खोजी तथा अनुसन्धान अघि बढाउनुपर्ने भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद पार्वती विकले गत साउन ३० गतेको अविरल वर्षाका कारण जाजरकोटमा आएको बाढीबाट ठूलो क्षति भएको बताइन्। उनका अनुसार ८९३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। उनले बालबालिका, घाइते, सुत्केरी तथा गर्भवती महिलाका लागि खाद्यान्न, आवास र कपडाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
सांसद गोपाल शर्माले रुकुम पश्चिममा अविरल वर्षाका कारण विद्यालय तथा बस्तीमा क्षति पुगेको भन्दै प्रभावित नागरिकका लागि सुरक्षित बासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद प्रशान्त उप्रेतीले हेटौँडामा मंगलबार विद्यालयबाट घर फर्कने क्रममा चार बालिकालाई खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको, एक जना घाइते भएको र एक जनाको अवस्था अझै अज्ञात रहेको बताए। उनले जोखिमयुक्त स्थानमा तत्काल पुल तथा सुरक्षित आवतजावतको व्यवस्था गर्न सरकारसँग माग गरे।
सांसद वासुमाया तामाङले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गतिविधि बढेको बताइन्। उनले यस्ता गतिविधि तत्काल रोक्न आवश्यक कानुनी तथा प्रशासनिक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।


