काठमाडौँ- प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले बाढीपहिरोका कारण अवरुद्ध भएको भेरी करिडोर तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बुढाले जाजरकोटमा आएको बाढीपहिरोका कारण जाजरकोट-डोल्पा सडक अवरुद्ध हुँदा डोल्पावासीको जनजीवन प्रभावित भएको बताए।
उनले भने, ‘जाजरकोट-डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यो सडक डोल्पावासीको जीवनरेखा हो। हाम्रो जीवनरेखा नै बन्द भयो।’
बुढाले तत्काल भेरी करिडोरको अस्थायी पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन तथा सम्भव भएका वैकल्पिक मार्ग सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले बाढीपहिरोबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धारको कामलाई समेत प्रभावकारी बनाउन माग गरे।
केही दिनअघि जाजरकोटका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण भेरी करिडोर अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा डोल्पा आवतजावत तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत समस्या भएको छ।
सांसद बुढाले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको भन्दै तत्काल सेवा सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, माथिल्लो डोल्पामा अझै मोबाइल सेवा पुग्न नसकेको उल्लेख गर्दै उनले त्यहाँ दूरसञ्चार सेवा विस्तार गर्न माग गरे।




