उडेको चरी समातूँला झैँ लाग्थ्यो। पानीमै आगो बाल्न सकिन्छ भन्न जोश थियो। कविताका हरफ देख्दा आँखा पुलकीत हुन्थे। यसका भावबाट झङ्कार पैदा हुन्थ्यो मनभरि।
अङ्ग्रेजी साहित्यका गुरु भट्टराई सर (प्रा.डा. गोविन्दराज भट्टराई) को सिकाउने अक्कल पनि बडो गजबको! रोचक पाराको प्रस्तुतिले ट्वाक्क विषयवस्तुमा प्रवेश गराई ज्ञानको गङ्गा प्रवाहित गराइदिने। सरकारी विद्यालयमा अङ्ग्रेजीको ठूलै साहित्यजस्तो लाग्ने ‘लेटर टू पेन फ्रेन्ड्स’ (गम्भीरमान गोइङ टू लन्डन) पढेर कलेज जीवनमा प्रवेश गर्दा अङ्ग्रेजी साहित्यलाई आफ्नो महत्त्वाकांक्षा इच्छाधीन विषय बनाउन पुगेको मैले धन्न कसो भट्टराई सरलाई गुरु थाप्न पाएँ। माया र सद्भाव मिसिएको सरल सिकाइमार्फत डुङ्गा तार्न माहिर माझीतुल्य भट्टराई सरले अङ्ग्रेजी साहित्यको ज्ञानको सागरमा पौडी खेल्न पस्दा भुमरीमा फसेको मजस्तो बबुरोलाई पाखुरामा समातेर निकालिदिनुभएको पनि धेरै पुरानो घटना भइसकेछ, एकादेशको कथाजस्तै।
त्यसैले जब यी गुरुदेवको सम्झनाले मनमा स्पर्श गर्न थाल्छ, तब श्रद्धाले उहाँको सम्मानमा शिर निहुरिन्छ।
भर्खरै स्कुले जीवन छिचोलेर कलेज परिसरमा पाइला हालेको थिएँ। त्यो समय म कविताबाहेक अरू सोच्दिनथेँ। मेरो सपनाको अर्को नाम थियो कविता। धनकुटामा हुने कविता प्रतियोगितामा मेरो नामसँग पुरस्कार र तालीको घनिष्ट सम्बन्ध थियो, त्यो एउटा समय। प्रतियोगिता नामको त्यो दौडमा प्रायः आफूभन्दा अघि अरू कसैलाई देख्न पर्दैनथ्यो।
अग्रज कवि प्रेम ओझाले त्यति बेला मेरो ऊर्जामा उकेरा लगाएको बिर्सिनसक्नु छ। उहाँ त्यतिखेर सरकारी जागिरका क्रममा धनकुटामा हुनुहुन्थ्यो। उहाँले प्रेमपूर्वक झापाबाट निस्कने साहित्यिक पत्रिका ‘रहर’मा प्रकाशनार्थ मेरो कविता पठाइदिनुभएछ। प्रकाशनका दृष्टिले २०४७ सालमा हो, मैले साहित्यिक क्षेत्रमा कवितामार्फत पाइला हालेको। ओहो, साढे तीन दशकअघिको कुरो पो परेछ यो त!
अङ्ग्रेजी कवितामा स्वच्छन्दतावादी युगका कवि पीबी सेलीको विशेष प्रभाव थियो ममा। आँधीको लय सिर्जना गर्ने उनको कविता प्रियकर थिए, मेरा लागि। देशको राजनीतिक अँध्यारो चिर्दै पूर्वमा उज्यालो लालिमा पोतिँदै गरेको समय थियो, अनि थियो ऊर्जा भरिएको उमेर।
यी त सबै समय समयको बात रहेछ। आज त्यो उमेर पनि रहेन, त्यो कवितामय सपना पनि कता पुग्यो कता? अब त चाहेर पनि कविता लेख्न सक्छु भन्ने लाग्दैन। गर्न नसकिने काममा हात हाल्ने कुरै भएन। अब त कवितासँगको मेरो सम्बन्ध ‘गोरु बेचेको साइनो’ बराबर भयो।
फेरि अलिकति फर्कौँ, स्वच्छन्दतावादी समयका जल्दाबल्दा अङ्ग्रेजी कविहरूको प्रसङ्गतिर।
पाँच स्वच्छन्दतावादी कविहरू हुन्, वर्डस्वर्थ, कलरिज, बाइरन, सेली र किट्स। यीमध्ये सबैभन्दा कान्छा हुन् किट्स। संयोग पनि कस्तो! सबैभन्दा पहिले उनकै मृत्यु भयो, २६ वर्षको खाऊँखाऊँ लाऊँलाऊँ उमेरमा। अरू सबै बितेपछि उमेरमा सबैभन्दा जेठा वर्डस्वर्थले भौतिक संसार छाडे। किट्सपछि उनीभन्दा अलि जेठा सेली, त्यसपछि उनीभन्दा अलि जेठा बाइरन र उनीपछि उनीभन्दा अलि जेठा कलरिजले क्रमशः भौतिक संसार छाड्दै गए। कलरिजपछि सबैभन्दा जेठा वर्डस्वर्थको पालो आयो। उनीहरूको जन्म र मृत्युको संयोग पनि त्यस्तै भयो, क्रमबद्ध।
किट्सभन्दा कलिला विमल गुरुङ
किट्स र सेलीलाई सम्झँदा यस्तो लाग्छ, कति धेरै सपना थिए होलान्, उनीहरूको कविताको संसारमा। लेखूँ, अझै धेरै लेखूँ, लेखूँ, अझै राम्रो लेखूँ। तर उनीहरूलाई समयले आवश्यकताभन्दा चाँडै भौतिक रूपमा बिदाइ गर्यो। थोरै समय बाँचेर, अङ्कगणितका हिसावले धेरै नभए पनि गुणको हिसाबले धेरै राम्रो लेखेर गए ती कविहरू। त्यसैले उनीहरूको नाम पाठकको मनमा बसेको छ, अमीट अभिलेख भएर। संसारमा जबसम्म चेतना रहन्छ, विस्मृतिको गर्तमा पुग्ने छैन, उनीहरूको नाम र सिर्जना।
कम्तीमा किट्स २६ वर्ष बाँचे। यता हाम्रा कवि विमल गुरुङले त किशोरावस्था पूरा छिचोल्न पाएनन्। उनी १९ वर्षका थिए। कति धेरै र राम्रो लेख्ने हुटहुटी थियो होला उनीसँग? तर समयले असामयिक रूपमा बिदाइको हात हल्लायो।
२०२८ साल कात्तिक १९ गते यो सुन्दर संसार हेर्न पहिलो पटक आँखा खोलेका उनले २०४८ वैशाख २४ गते त्यहीँ आँखा सदाका लागि चिम्लिए। एउटा होनहार कविलाई हामीमाझबाट निष्ठुरी समयले खोसिदियो।
विमलले धरानमा रहेर कविताको आगो ओकलिरहेका बेला कविता भनेपछि मरिहत्ते गर्ने म धनकुटामा रहेर उनको सिर्जनाको परख गरिरहेको थिएँ। उनको गति नियालिरहेको थिएँ। उनी मजस्तै लाखौँ पाठकको मुटुमा धड्किरहेका थिए। तर उनको अप्रत्यासित बिदाइमा हाम्रो मुटुको धड्कन एकपटक रोकिएलाझैँ भएको थियो। इतिहास साह्रै नमज्जाले चुकचुकाइरहेको थियो।
विमल आफ्नी आमा सरस्वती र सानीआमा झिमा गुरुङसँग काठमाडौँबाट धरान फर्कँदै थिए। धादिङको जुकेपानीमा उनी चढेको बस दुघर्टनाग्रस्त भयो। आमा र सानीआमा सकुशल हुँदा उनले संसार छाडिसकेका थिए। आठ वर्षअघि आमाले पनि देह त्याग्नुभयो। अन्तिम अवस्थासम्म उहाँले छोराको सम्झनामा भक्कानो छाड्न छाड्नुभएको थिएन। भनिरहनुहुन्थ्यो, ‘त्यो दुर्घटनामा मचाहिँ जानुपथ्र्यो, किन मेरो छोरा नै जानुपर्ने?’
यो असामान्य वेदनालाई सहज अवतरण त गर्नु नै थियो। छाडिजानेलाई भुल्न त कहाँ सकिन्छ र? तर सम्झनालाई सार्थक बनाउनु पनि त थियो।
एक सर्जक थिए, विमल। सानै उमेरमा परिपक्व सिर्जना गर्ने क्षमता लिएर आएका थिए उनी। एउटा लाहुरे बाबुको एक्लो छोरो, पुल्पुलिएर बिग्रनुको सट्टा सादगी सर्जक भएर निस्किएका थिए। आफ्नै टोल बुद्धचोकमा ‘बुद्ध वाचनालय’ खोलेर पठन संस्कृतिको उज्यालो बाँडिरहेका थिए। भित्तेपत्रिका ‘इँटा’ निकालेर सिर्जनाको भब्य निकेतनको सपनालाई विपनामा परिणत गर्ने गरी पसिनाको सुमधुर गीत गाइरहेका थिए।
उनको एउटा सपना थियो, वाचनालयलाई पुस्तकालयमा परिणत गर्ने।
एउटा वासन्ती मुनाजस्तो उमेर। सपनाका अनेक रङ भर्ने उपक्रम। अनायसै आएको हुरीले बित्याँसलाई निम्तो दिएको जस्तै भयो। विमल हामीबाट खोसिए, हाम्रा मुटुहरू चोइटिए।
अब विरह गाएर मात्रै विमल पुनः ब्युँझेर भौतिक रूपमै फर्कने सम्भावना रहेन। आँखाबाट छुटेको धाराप्रवाहले नै मनको व्यथा बगाएर लैजाने भए सबैभन्दा श्रेयस्कर उपाय हुने थियो, रुँदै र कहालिँदै बस्नु। यहीँ सत्य बुझेर अब आमा सरस्वतीले बारम्बार छुटिरहने भक्कानोलाई अलि कम गर्दै जान, पोलिरहने आँखाको पिरो अलि शीतल पार्दै लैजान विमलको अधुरो सपनालाई गोडमेल गर्ने निर्णय गर्नुभयो। बुबा पूर्णबहादुर र बहिनी शान्ति गुरुङबाट साथ सहयोग छँदै थियो।
यो निर्णयको ६ महिनापछि विमलको २० औँ जन्मजयन्तीमा २०४८ साल कात्तिक १९ गते धरान-१८, बुद्धचोकमा भव्य पुस्तकालय भवनको उद्घाटन भयो, कवि विमल गुरुङ स्मृति पुस्तकालय। आज यो पुस्तकालय पूर्वी नेपालको एउटा उत्कृष्ट साहित्यिक तीर्थस्थल बन्न पुगेको छ। यहाँ साहित्यिक तीर्थालुहरूको बाक्लो तीर्थाटन भइरहन्छ। उनीहरू दिवंगत विमललाई सम्झँदै र सोध्दै-खोज्दै त्यहाँ पुग्छन्। एउटा अमर स्रष्टाको सिर्जनाको सार्थकतालाई यताबाट पनि मसिनो गरी पर्यवेक्षण गर्न सकिन्छ।
कविता महोत्सवको परिकल्पना
त्यो समयमा कविता भनेपछि मरिहत्ते गर्ने मान्छे थिएँ म। पत्रकारिताको डोरोमा डोरिएपछि कवितासँग मेरो कुनै बेलाको सघन साइनो क्रमशः पातलो हुँदै गयो। लेखनका दृष्टिले अब मसँग कविताको हिङ त के, हिङ बाँधेको टालो पनि छैन। पठनको कुरा गर्दा छानी-छानी मात्रै कविता पढ्छु। कविताका वैचारिक बिम्बहरूले जसरी मलाई मदबेहोसी पारामा लठ्याउँछ, जस्तो कि ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित।’
कलाका लागि केवल कला खिपेको बिम्बले मलाई छुँदै छुँदैन। त्यसैले वर्तमानमा कविता लेखनका दृष्टिले म अल्छे तिघ्रो भएको प्राणी र पठनका दृष्टिले स्वादे जिब्रो भएको पारखी हुँ। यद्यपि कवि महोदयहरूमा मेरो ठूलो सम्मान छ।
वृत्ति चलाउन पत्रकारिता क्षेत्र रोजेको हुँ। सीधा कुरा सीधै भन्नु वा लेख्नुपर्ने यही पत्रकारिता अभ्यासले लक्षणा र ब्यञ्जनाले बिम्ब र प्रतीकको सहयोगी लिएर घुमाई-घुमाई बोल्नुपर्ने कविता साधनालाई मबाट तितरबितर बनाइदिएको हो। पत्रकारिता कर्ममा सक्रियता बढेपछि मभित्रको कविलाई सुकेनासले सताउँदै लग्यो।
पत्रकारिताको आकाशमा पखेटा फिँजाउँदै जाँदा धनकुटाभन्दा अलि फराकिलो ठाउँको खोजी गर्न थाल्यो आँखाले। दुईतीन महिना काठमाडौँ गएर अभ्यस्त हुन खोजेको हराइएला झैँ भयो। आपत्विपत्मा न काका छन्, न मामा! मेरो बिलखबन्द मनोदशा बुझेर मित्र जीवन भट्टराई (उमेरमा मभन्दा अलि जेठा भए पनि सम्बन्धका हिसाबले हामी साथी-साथी) आफ्नो गृहनगर धरानमा आमन्त्रण गर्नुभयो, ‘यतै बसौँला, एउटा अखबार चलाऊँला।’
तर उहाँले भनेअनुसार पहिला जोसिएका तारा सुब्बा (पछि धरान महानगरका मेयर, हाल : दिवंगत) बाट अखबार सञ्चालनका लागि उति साह्रो जाँगर चलाइएको पाइनँ। त्यसतर्फ खास कुरो कोट्याउने रुचि पनि मैले लिइनँ। राजधानीबाट प्रकाशित हुने अखबारको संवाददाताको रोजगारी छँदै थियो।
धरानको बसाइ सुरु गरेपछि उही तीर्थस्थलका रूपमा विकसित विमल पुस्तकालय पुग्ने नै भइयो। विमलजीका बुबा पूर्णबहादुर र आमा सरस्वतीसँग जीवनजीले नै चिनापर्ची गराइदिनुभयो। दुई वर्षअघि मात्रै सामना गर्नुपरेको पुत्रवियोग उहाँहरू दुवैको आँखामा छचल्किएर प्रकट हुन पुगे। विमलकै दौँतरी वयको भएकाले होला, समीपमा मलाई पाउँदा उहाँहरूलाई अलि गाह्रो भएको। अलि दुब्ले, ख्याउटे र पातले अनि लुगा लगाइमा ल्याङ्फ्याङे तर लेखपढमा खिप्ती गर्ने विमलकै झल्को आयो होला म उहाँहरूको समीपमा हुँदाखेरि। पहिलो भेटमा बुबा पूर्णबहादुरको आँखा डब्डबायो, आमा सरस्वतीको सास बढ्यो, उहाँलाई बोल्न गाह्रो भयो।
हाम्रो भेट भएको केही दिनपछि जीवनजीमार्फत उहाँहरूले खबर पठाउनुभयो, ‘लु त्यो बाबु हाम्रैमा बसोस्। बाहिर डेरा गरेर बस्नु पर्दैन भनिदिनू। पुस्तकालयको काममा पनि सहयोग हुन्छ।’
यो प्रस्ताव स्वीकार गरिहाल्न सकिनँ मैले। अलि पछि लाग्यो, पुस्तकालयमा सघाउनु त छँदै छ, मेरो उपस्थितिले उहाँहरूमा विमलको न्यास्रो मेटिन्छ भने केही समय घरैमा पनि बसिदिऊँला।
मैले विमलले प्रयोग गर्ने गरेको कोठा पाएँ। गाँस र बासको समस्या भएन धरानमा मेरा लागि। पखेटा फिँजाउने अलि फराकिलो आकाश खोज्दै हिँडेको मलाई न्यानो काखको तातो माया दिने अभिभावक पो मिल्यो। एक वर्ष बसेँ म विमलको घरमा, उनको बुबा र आमाको छोरा भएर। सम्बोधनमा बुबा पूर्णबहादुर मामा र आमा सरस्वती छेमा पर्नुभयो। मैले उहाँहरूको नुन खाएको छु। म यो नुनको गुन जीवनभर बिर्सने छैन।
पुस्तकालयको काममा सघाउपघाउ छँदै छ। विमलको जन्मजयन्ती अलि भव्य बनाऊँ भन्ने लाग्यो। उनको नाममा हुने उत्सवहरूलाई महोत्सव बनाउनुपर्छ भन्ने सोच्न थालियो। त्यसैले २०५२ सालदेखि राष्ट्रिय कविता महोत्सव सञ्चालन हुँदै आएको छ। यो कविता महोत्सवमा पहिलोपल्ट भीम राना ‘जिज्ञासु’ (गोरखा) प्रथम, रमेश श्रेष्ठ (कास्की) द्वितीय र पेशल आचार्य (सुनसरी) तृतीय भएका थिए। २०४८ सालदेखि पुस्तकालयले कविता प्रतियोगिता गर्दै आएकाले त्यसैलाई जोडेर यस वर्ष गरिने कविता महोत्सवलाई ३३ औँ संस्करणको भनिएको हो।
महोत्सवका लागि कविताको आह्वान गर्दाको क्षण पनि यो प्रसङ्गमा स्मरणीय भएर आउँछ। काठमाडौँबाट छापिने दुईवटा साप्ताहिक अखबारमा विज्ञापन दिन्थ्यौँ, त्यसबेला। विज्ञापनको विवरण र तीन सय रुपैयाँ अलि बाक्लो खाममा हालेर पठाउँदा ती अखबारले छापिदिएको सानो विज्ञापनको भरमा देशभरबाट एउटा महोत्सवका लागि पाँच सय हाराहारीमा कविता प्राप्त हुन्थे।
आज सम्झन्छु, ती दुई अखबारले पनि पुस्तकालयलाई सहयोग नै गरेका हुन्। अत्यन्तै कम मूल्यमा अमूल्य सूचना प्रकाशित गरिदिनु सहयोग नै हो। ती दुईमध्ये ‘दृष्टि’ साप्ताहिक अहिले पनि निरन्तर प्रकाशित भइरहेको छ भने साप्ताहिक ‘विमर्श’ को प्रकाशन बन्द भएको निक्कै वर्ष भइसक्यो।
दुई लाख राशिको पुरस्कार
विगत आठ वर्षदेखि म परदेशमा छु। यस बीचमा पछिल्लोपटक तीन वर्षअघि म मातृभूमि पुगेको थिएँ। धरानमा निस्कँदा सञ्चारकर्मी तथा मुन्धुम कवि प्रदीप मेन्याङ्बोले भने, ‘दाइ, यो पूर्वमा स्रष्टालाई सम्मान गर्ने एउटा गतिलो पुरस्कार छैन। लौ न विमल पुस्तकालयमा यो प्रस्ताव राखौँ। विमल कृति पुरस्कारका नाममा हरेक वर्ष एक उत्कृष्ट पुस्तकलाई पुरस्कार दिने व्यवस्था गरौँ।’
प्रस्तावका लागि मै अघिसरा भएँ। पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङसमक्ष भनेँ, ‘पुस्तकालयबाट हरेक वर्ष एक पुस्तकलाई एक लाख रुपैयाँको पुरस्कारको व्यवस्था गरौँ मामा।’
यसबारेमा एकैछिन छलफल भयो। प्रदीप र मैले यसको महत्त्वबारे प्रकाश पार्यौँ। बहिनी शान्तिको उपस्थितिमा पूर्णबहादुर गुरुङले भन्नुभयो, ‘एक लाखको होइन, दुई लाखको पुरस्कार दिऔँ।’
हामी खुसीले उफ्रियौँ।
विगत तीन वर्षदेखि यो कृति पुरस्कार पनि निरन्तर प्रदान गरिँदै आएको छ। यसपटक लेखक प्रकाश थाम्सुहाङको निवन्धकृति ‘शब्दथुम’ले यो पुरस्कार पाएको छ। राष्ट्रिय कविता महोत्सवको निरन्तरता छँदै छ।
वास्तवमा पुस्तकसँग त्यति परिचित होइनन्, विमलका बुबाआमा। तर दिवंगत छोराको सपनासँग गाँसिएको पुस्तकालयसँगको सपना र साइनोले उहाँहरूलाई पनि बाँध्यो। सिसेरोले भनेका छन्, ‘पुस्तक नभएको कोठा र आत्मा नभएको शरीरमा कुनै भिन्नता हुँदैन।’ हो, यो पुस्तकालयमा पुग्छन्, उनै दिवंगत विमललाई सोध्दैखोज्दै वास्तविक आत्मा भएको शरीरहरू।
कविता सिर्जनाबाट कैयौँ दूरी टाढा रहे पनि छोटो समय र कलिलो उमेरमा अब्बल एवम् परिपक्व सिर्जना गर्ने कवि विमलको वैचारिक बिम्बहरूबाट म कहाँ टाढा हुन सक्छु र!



