गगनलाई ७१ प्रतिशत मत ल्याएर सभापतिमा जिताउने विश्वप्रकाशको दाबी

हिमाल प्रेस २९ साउन २०८३ १२:५९ | Friday, August 14, 2026
4
SHARES
गगनलाई ७१ प्रतिशत मत ल्याएर सभापतिमा जिताउने विश्वप्रकाशको दाबी

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा  गगन थापालाई ७१ प्रतिशत मतसहित विजयी गराउने दाबी गरेका छन्।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा विशेष सम्बोधन गर्दै शर्माले १५औँ महाधिवेशन मंसिरभन्दा अगावै सम्पन्न गर्नुपर्ने बताए। उनले भने, ‘गगन थापाका पक्षमा ७१ प्रतिशत मत ल्याएर विजय गराउने हाम्रो अठोट छ।’ कांगेसले आगामी असोज १६, १७, १८ र १९ का लागि महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ।

शर्माले महाधिवेशनपछि नेपाली समाजमा देखिएको निराशा अन्त्य गर्ने गरी पार्टी सक्रिय हुनुपर्ने बताए।

कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेता–कार्यकर्तालाई समेत १५औँ महाधिवेशनका लागि सक्रिय हुन उनले आग्रह गरे।

‘त्यो भेलामा सहभागीसहित सबै कार्यकर्ताको चिन्ता नेपाली कांग्रेसलाई बलियो बनाउनु हो,’ उनले भने, ‘प्रतिकूल अवस्थामा कांग्रेसभित्र बलियो एकता हुनुपर्दथ्यो।’

शर्माले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेपछि पद त्याग गरेर अभिभावकीय भूमिका निर्वाह गरेको भए मुलुकले साझा निकास पाउने दाबी गरे।
भेलामा सहभागीले देउवाका पक्षमा जयजयकार गरिरहँदा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकका सदस्यहरू देउवाका विरोधी नभएको कुरा पनि बुझ्नुपर्ने उनको भनाइ थियो।

देउवाले सभापति पद त्याग गरेको भए त्यसको राजनीतिक दबाब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पर्ने शर्माले बताए। भदौ २३ को घटना हुनुको एउटा कारण शीर्ष नेतृत्वको पदलोलुपता रहेको पनि उनले बताए।

प्रधानमन्त्री बन्ने आकांक्षाका कारण देउवाले पार्टी र देशका पक्षमा गरेका काम ओझेलमा परेको उनको टिप्पणी थियो।

‘हामीले देउवालाई सुरुदेखि नै पदत्याग गरेर अभिभावक बन्न आग्रह गरेका थियौँ। उहाँले अस्वीकार गरेपछि हामीले विशेष महाधिवेशनमा जानुपरेको हो,’ शर्माले भने।

नियमित महाधिवेशन गर्न सक्ने अवस्था नरहेकाले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको उनको दाबी थियो।

विशेष महाधिवेशनको वैधताबारे न्यायालयसमक्ष फेरि जानकारी गराउने पनि शर्माले बताए। साथै उनले १५औँ महाधिवेशनको तयारीका क्रममा पार्टीभित्र खुला छलफल आवश्यक रहेको बताए।

‘असोजभित्र १५औँ महाधिवेशन गर्नुछ। सातबुँदामा थप्नुपर्ने के हो? घटाउनुपर्ने के हो? त्यसमा खुला ढंगमा छलफल होस्,’ उनले भने।

उनले महाधिवेशनसम्बन्धी विषयलाई संवादमा राखेर पुनरावलोकनका लागि पर्खिनुपर्ने भए पनि १५औँ महाधिवेशन मंसिरभन्दा अगाडि नै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकताको मुद्दा फेरि हेर्ने आदेश दिएपछि र जेनजी आन्दोलनका क्रममा घाइते भएका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि कांग्रेस राजनीतिमा सबैको चासो बढेको देखिन्छ। संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक जारी राखेको छ भने असन्तुष्ट पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर राष्ट्रिय भेला आयोजना गरेको छ।

प्रकाशित: २९ साउन २०८३ १२:५९ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast