चीनमा ‘डल्फिन’ आँधीका कारण जनजीवन प्रभावित

हिमाल प्रेस २५ साउन २०८३ १३:२८ | Monday, August 10, 2026
6
SHARES
चीनमा ‘डल्फिन’ आँधीका कारण जनजीवन प्रभावित तस्बिर : एएफपी

काठमाडौँ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी वर्षा भएपछि सयौँ उडान रद्द भएका छन् भने केही क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) का अनुसार आँधीले आइतबार झेजियाङ प्रान्तको तटमा दुई पटक प्रवेश गरेपछि शक्ति गुमाएको हो।

केन्द्रले सोमबार बिहान आँधीसम्बन्धी सबैभन्दा न्यून तहको चेतावनी जारी गरेको छ।

यद्यपि, पूर्वी तथा मध्य चीनका केही क्षेत्रमा सोमबार पनि भारी वर्षा जारी रहने एनएमसीले जनाएको छ। झेजियाङको पूर्वी तथा दक्षिणी क्षेत्रमा अधिकारीहरूले उच्च तहको बाढी चेतावनी जारी गरेका छन्।

साङ्घाईका दुई प्रमुख विमानस्थलबाट हुने ९४३ उडान सोमबार रद्द गरिएको विमानस्थल प्राधिकरणले जनाएको छ।

भारी वर्षाका कारण साङ्घाईमा केही स्थानीय रेलसहित सार्वजनिक यातायात सेवा पनि प्रभावित भएका छन्।

झेजियाङको निङ्बो अन्तरराष्ट्रिय विमानस्थलले स्थानीय समयअनुसार दिउँसोदेखि उडान सेवा पुनः सञ्चालन गर्ने जनाएको छ। तर आँधीको प्रभाव पूर्ण रूपमा हटिनसकेकाले केही उडान ढिलो वा रद्द हुन सक्ने विमानस्थलले चेतावनी दिएको छ।

प्रान्तीय राजधानी हाङझाउमा आइतबार केही रेल सेवा रोकिएपछि सोमबार बिहानदेखि सबवे सेवा पुनः सञ्चालन गरिएको छ।

यसैबीच, उत्तरी चीनमा पनि खराब मौसमको जोखिम बढेको छ। बेइजिङका पाँच जिल्लामा सोमबार भारी वर्षाका लागि उच्च तहको चेतावनी जारी गरिएको छ। अधिकारीहरूले बाढी र पहिरोको जोखिमबारे सतर्क गराएका छन्।

टाइफुन ‘डल्फिन’का कारण सप्ताहन्तमा चीनमा एक हजारभन्दा बढी उडान रद्द गरिनुका साथै दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

यसअघि दक्षिणी ग्वाङडोङ प्रान्तमा दुई साताअघि टाइफुन ‘नोल’ आएको थियो। अधिकारीहरूले उक्त आँधीलाई यस वर्ष चीनमा आएको सबैभन्दा शक्तिशाली आँधी बताएका थिए।

गत महिना पनि दक्षिणी तथा मध्य चीनमा खराब मौसमका कारण ठूलो क्षति भएको थियो। ग्वाङ्सी क्षेत्रमा टाइफुन ‘मेसाक’का कारण आएको बाढीमा ३९ जनाको मृत्यु भएको थियो भने मध्य हुबेई प्रान्तमा आएको आँधी र हावाहुरीमा ११ जनाको मृत्यु तथा ३३१ जना घाइते भएका थिए।-रासस/एएफपी

प्रकाशित: २५ साउन २०८३ १३:२८ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast