प्रधानमन्त्री बालेनको मध्यरातको स्टाटसले जन्माएको प्रश्न

हिमाल प्रेस २३ साउन २०८३ २१:२३ | Saturday, August 8, 2026
10
SHARES
प्रधानमन्त्री बालेनको मध्यरातको स्टाटसले जन्माएको प्रश्न

काठमाडौँ- प्रधानमनत्री वालेन्द्र शाह (बालेन) ले पछिल्लो समय मध्यरातमा सामाजिक सञ्जालमा लेखेको स्टाटस यतिबेला चर्चामा छ।

उनले लेखेका छन्,‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन्।’

उनको यो स्टाटसमा शब्द थोरै छन्, तर प्रश्न धेरै जन्मिएका छन्। प्रधामन्त्री बालेनले के कुराका लागि ‘सही समय’ पर्खिरहेका छन्? के ढिला भइरहेको छ? कसको दबाब वा विरोधका बीच उनी ‘एक्लै लड्ने’ कुरा गरिरहेका छन्? र, सबैभन्दा महत्वपूर्ण–जनताले सुनेको र देखेको वास्तविकताभन्दा फरक वास्तिविकता के हो?

यी प्रश्नका उत्तर बालेनले दिएका छैनन्। दिनैपर्छ भन्ने पनि होइन। तर, प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत साझा गर्ने धारणा एउटा सामान्य नागरिकको स्टाटस जस्तो पक्कै पनि हुँदैन्। प्रधानमन्त्रीले लेख्ने र बोल्ने प्रत्येक शब्दालाई राजनीतिक सन्देशका रूपमा अथ्र्याइन्छ। त्यसैले अस्पष्टताले आफ्नै अर्थ निर्माण गर्न थाल्छ। ती अर्थहरूले प्रधानमन्त्रीले सोचेको भन्दा फरक पनि हुन सक्छ।

केही दिनअघि प्रधानमन्त्री बालेनले आफ्नो, गृहमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीसँगै भएको तस्बिर सामाजिक सञ्जालमा साझा गरेर ‘देश बनाउने टिम’ बताएका थिए। संसदमा उनीसँग १८२ सांसदको भारी बहुमत छ। यो संख्या झन्डै दुई तिहाइ हो। तैपनि प्रधानमन्त्री बालेन सामाजिक सञ्जालमा लेख्छन्– एक्लै लड्नु परिरहेको छ।

उनको यो सन्देशले बालेन आफ्नै दलभित्र पनि चेपुवामा परेका हुन् कि भन्ने बाहिर भइरहेका आशंकाहरूलाई बल पुर्‍याएको छ। पछिल्लो समय उनको र उनको टिमको शैलीलाई लिएर विपक्षी दलका नेताहरूले प्रश्न उठाइरहेका थिए नै, आफ्नै दलका सांसदहरूले समेत प्रश्नको वर्षा गर्न थालेका छन्।

उनको कामको शैलीमा टिमले आफू अनुकूलमात्र होइन विश्वास गरेकाले पनि विवादित निर्णयहरू लिइरहेको देख्न सकिन्छ। राज्य संयन्त्रमा अमुक व्यक्तिहरू हावी हुने र निर्णय गराउने काम भएको तथा उनका सहयोगीहरू पनि हितानुकूल काममा लागेको हो कि भन्नेमा उनी अल्झिएको पनि हुनसक्छ।

बालेनको राजनीतिक शैलीको एउटा विशेषता यही देखिन्छ– सिधा भाषामा ठूलो संकेत दिने, पूरा सन्दर्भ प्रस्ट नपार्ने। कम बोल्न रूचाउन, भेटघाटलाई सीमित राख्न खोज्ने प्रधानमन्त्री बालेन आफूलाई ‘रहस्यमयी’ चरित्रका रूपमा स्थापित गराउन चाहेको देखिन्छ।

यसले उनको समर्थकमा उत्साह जगाउन सक्छ, आलोचकलाई अनुमानको अवसर दिन्छ र सर्वसाधारणमा कौतुहलता जगाइरहन्छ। तर प्रस्ट हुन जरूरी के छ भने–सरकार चलाउनु र सामाजिक सञ्जाल चलाउनु नितान्त फरक कुरा हुन्। सामाजिक सञ्जाल चलाए जस्तो सरकार र देश चलाउन सहज छैन भन्ने सबै राजनीतिज्ञले बुझ्न जरूरी छ।

निर्वाचनअघि वा प्रतिपक्षमा हुँदा ‘एक्लै लड्छु’ भन्ने अभिव्यक्ति राजनीतिक शैली हुन सक्छ। तर, प्रधानमन्त्रीको कुसीमा बसिसकेपछि प्रश्न फेरिन्छ, अवस्था परिवर्तन हुन्छ, उद्देश्य र नीति फेरिन्छ।

प्रधानमन्त्री एक्लो व्यक्ति कदापि होइनन्, राज्यको कार्यकारी प्रमुख हुन्। सारा देश हाक्ने जिम्मेवारी उनको काँधमा हुन्छ। आमनागरिकको सुख दुःख, पीडा समस्याको सामाधान गर्ने जिम्मेवार व्यक्ति हुन् प्रधानमन्त्री।

उनीसँग सरकार, मन्त्रालय, कर्मचारी संयन्त्र, सुरक्षा निकाय, प्रशासन र राज्यका अनेक संरचना छन्। त्यसैले ‘एक्लै लड्दैछु’ भन्नु फगत ‘इमोसनल ब्ल्याकमेल’ बाहेकमात्र हो। प्रधानमन्त्रीले संस्थाहरूलाई कसरी अगाडि बढाउँदैछन् भन्न् जवाफ जनताका लागि बढी महत्वपूर्ण हुन्छ।

‘ढिला होला, तर गलत हुँदैन’ भन्ने वाक्य जति सुन्दर छ, त्यति नै आशावादी पनि। तर, राज्य सञ्चालन गर्दा आफूमात्रै सही भएर पुग्दैन। आफ्नैले कहाँ के गरिरहेको छ त्यो पनि नियाल्ने क्षमता राख्नुपर्छ। आफ्नै सहयोगी वा मन्त्रीहरूले शासनका नाममा कतै डिलर त चलाएका छैनन् भन्ने तर्फ चनाखो हुन आवश्यक हुन्छ।

नियुक्तिको विषय होस् वा अन्य–कार्यकारी प्रमुखको हैसियतले त्यसतर्फ ध्यान दिन जरूरी हुन्छ। समयमै सही निर्णय गर्नु पनि सुशासनको हिस्सा हो।

नागरिक राहदानी घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ। खाना पकाउने ग्यासका लागि उपभोक्ता दिनभर भौतारिनुपर्ने अवस्था छ, किसानले मल पाएका छैनन्। उपचार नपाएर दम्पती नदीमा हामफालेको दुःखद घटना देखिनुपरेको छ। अनि ‘ढिला होला’ भन्ने कुरा पर्याप्त होइन।

रोजगारी खोजिरहेका युवा सरकारको ‘सही समय’ कुर्न सक्दैन। लगानीकर्ता निर्णयको प्रतीक्षामा छ भने अनिश्चितता आफैँ लगत बन्छ। सेवाग्रहीका लागि राज्यको ढिलाइ कहिलेकाहीँ उसको जीवनको ठूलो समस्या बन्न सक्नेतर्फ हेक्का राख्न आवश्यक छ।

त्यसैले प्रधानमन्त्रीले ‘ढिला होला’ भनेपछि स्वाभाविक प्रश्न उठ्छ– कुन काममा ढिला भइरहेको छ र त्यसको मूल्य कसले चुकाइरहेको छ? अर्को वाक्य झनै रोचक छ– सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।

यो सम्भव छ। सरकारभित्रका कतिपय विषय बाहिर देखिएजस्ता नहुन सक्छन्। निर्णयका पछाडि अनेक तहका प्रक्रिया हुन सक्छन्। सार्वजनिक रूपमा नबताउनुपर्ने संवेदनशील विषय पनि हुन सक्छन्। प्रधानमन्त्रीलाई सामान्य नागरिकभन्दा पक्कै पनि बढी सूचना उपलब्ध हुन्छ। तर, लोकतन्त्रमा यसको अर्को पाटो पनि छ।

जनताले देखेको र सुनेको भन्दा वास्तविकता फरक हो भने यथार्थ देखाउने दायित्व पनि सरकारकै हो। ‘वास्तविकता फरक छ’ भनेर मात्रै पुग्दैन। त्यो वास्तविकता आमनागरिकसामू प्रस्ट पार्ने दायित्वबोध हुन पनि जरूरी छ। उपयुक्त समयमा तथ्य र परिणाममार्फत त्यो फरक वास्तविकता प्रमाणित गरिनुपर्दछ। यसमा सरकारको नेतृत्वकर्ताले ध्यान दिनैपर्छ।

त्यसैगरी ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने वाक्यले प्रधानमन्त्रीको संघर्षशील छवि निर्माण गर्न सक्छ। तर, शासन व्यक्तिको वीरताको कथा होइन। संस्थाको क्षमताको परीक्षा हो। प्रधानमन्त्री एक्लै लडेर देश चल्दैन। मन्त्री, सचिव, कर्मचारी, सुरक्षा निकाय, विज्ञ, संसद, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्यबाट राज्य सञ्चालन हुन्छ।

प्रधानमन्त्रीको शक्ति अरू सबैलाई पछाडि पारेर एक्लै उभिनुमा होइन, सबैलाई एउटै राष्ट्रिय उद्देश्यमा परिचालन गर्न सक्नुमा हुन्छ भन्ने कुरा उनले भुल्नु भएन।

बालेनको पुस्ताले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि व्यक्त गरेर ठूलो जनसमर्थन पाएको हो। त्यसैले उनीसँग एउटा अतिरिक्त जिम्मेवारी पनि छ–पुरानो राजनीतिको विकल्प केवल नयाँ अनुहार होइन, नयाँ शासन संस्कार पनि हो भनेर प्रमाणित गर्नु।

सामाजिक सञ्जालमा छोटा, धारिला र संकेतपूर्ण स्टाटस लेख्नु एउटा राजनीतिक शैली हुन सक्छ। तर, प्रधानमन्त्रीको वास्तविक प्रभाव स्टाटसमा होइन, निर्णयमा देखिन्छ।

जनताले अब सोध्ने प्रश्न पनि त्यही हुनुपर्छ–कति स्टाटस लेखियो होइन, कति काम भयो? कति निर्देशन दिइयो होइन, कति कार्यान्वयन भयो? कतिपटक ‘सही समय आउँछ’ भनियो होइन, सही समय कहिले आयो? र, सबैभन्दा महत्वपूर्ण–प्रधानमन्त्री एक्लै लडिरहेका छन् कि राज्यको सम्पूर्ण संयन्त्रलाई परिणाम दिने गरी परिचालन गरिरहेका छन्?

बालेनको स्टाटसलाई आशावादी सन्देशको रूपमा पनि लिन सकिन्छ। त्यसमा दृढता पनि छ, धैर्यको आग्रह पनि।

तर, प्रधानमन्त्रीका लागि अब शब्दभन्दा परिणामले बोल्नुपर्ने समय हो। किनकि सामाजिक सञ्जालमा ‘वास्तविक फरक छ’ भन्न सजिलो छ, शासनमा त्यो परक वास्तविकता प्रमाणित गर्न कठिन छ।

र, यही कठिन कामबाट नै कुनै प्रधानमन्त्रीको शैली लोकप्रियताबाट नेतृत्वमा र स्टाटसबाट शासनमा रूपान्तरण हुन्छ। यसका लागि सबैलाई समेटेर लैजान सक्नुपर्छ र विधिको शासनमा सबैलाई अचेट्न एक्लो प्रधानमन्त्रीले संयन्त्र सञ्चालन गर्ने हो।

टिममा पाको निर्णयका लागि छलफल गर्ने र विज्ञसँग पनि परामर्श लिने र निर्णय आफूले गर्ने हो। यस्ता कुरामा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनलाई स्मरण गरेर काम गर्ने हो।

प्रकाशित: २३ साउन २०८३ २१:२३ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast