ग्यास लुकाउनेलाई कडा कारबाही

हिमाल प्रेस २३ साउन २०८३ ९:४६ | Saturday, August 8, 2026
22
SHARES
ग्यास लुकाउनेलाई कडा कारबाही

काठमाडौँ- खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कडा कानुनी कारबाही गर्ने सरकारले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाइछिपाई आफू निकट व्यक्ति, होटेल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढी मूल्य लिएको भन्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै ग्यास विक्रेता तथा डिपोले ग्यासको कृत्रिम अभाव देखाएर तोकेभन्दा महँगो मूल्यमा ग्यास बिक्री गरेको गुनासो आएकाले त्यस्ता व्यवसायीलाई कानुन अनुसार हदैसम्मको कारबाही गरिने चेतावनी दिएको हो।

विभागका अनुसार यस्ता क्रियाकलापका सम्बन्धमा आफू र अन्य अधिकार प्राप्त निकायले निरन्तर अनुगमन गरिरहेको समेत स्पष्ट पारेको छ।

विभागका महानिर्देशक मोतीराम सापकोटाले खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा उपभोक्ताको प्राथमिकता आधारमा सहज रूपमा उपलब्ध गराउन ग्यास विक्रेता र डिपोलाई निर्देशन दिएको बताए।

ग्यास सिलिन्डर लुकाउने, कृत्रिम अभाव गर्ने, कालोबजारी गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य कानुनविपरीत भएकाले यस्तो कार्य गर्नेलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही हुने पनि उनले चेतावनी दिए।

कानुनविपरीत कार्य भइरहेको देखिएमा वा उपभोक्ता आफू ठगिएको महसुस भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन विभागले सम्पूर्ण उपभोक्तालाई अनुरोध गरेको छ ।

प्रकाशित: २३ साउन २०८३ ९:४६ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast