हर्मुज भएर जाने ढुवानी रुटबारे सहमति भएको इरानको दाबी

हिमाल प्रेस २१ साउन २०८३ ८:२२ | Thursday, August 6, 2026
2
SHARE
हर्मुज भएर जाने ढुवानी रुटबारे सहमति भएको इरानको दाबी होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- इरानले ओमानसँगको सहकार्यमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ भएर जाने ढुवानी रुटबारे सहमति भएको दाबी गरेको छ। यद्यपि, अमेरिकी नौसेनाको नाकाबन्दीका कारण पारवहन पूर्ण ग्यारेन्टी नदिने इरानले चेतावनी दिएको छ।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमतिअनुसार नयाँ रुटको भौगोलिक अवस्थिति तय भइसकेको जानकारी दिएको बीबीसीले जनाएको छ। इरानको आधिकारिक समाचार संस्था ‘इर्ना’का अनुसार यो सहमति अन्तिम चरणमा छ।

त्यस्तै, इरानका उपविदेशमन्त्री काजिम घरिबाबडीले यो नयाँ रुट अस्थायी प्रकृतिको हुने र दुईदेखि चार महिनासम्म खुला रहन सक्ने बताए। यद्यपि, यस विषयमा ओमान र संयुक्त राज्य अमेरिकाले भने अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया दिएका छैनन्।

फेब्रुअरीको अन्त्यदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता हर्मुज स्ट्रेटबाट हुँदै आएको विश्वको करिब एक–पाँचौं हिस्सा तेल र एलएनजीको कारोबार लगभग ठप्प छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव आएको छ।

इरानी प्रवक्ता बाघाईले ओमानसँग सहमति भए पनि स्ट्रेट अफ हर्मुज असुरक्षित हुनुको मुख्य कारण अमेरिका नै रहेको आरोप लगाएका छन्। अमेरिकी नौसेनाको नाकाबन्दी तथा इरान र उसका हितहरूविरुद्धका आक्रामक गतिविधिहरू नरोकिँदासम्म पूर्ण सुरक्षाको प्रत्याभूति नहुने उनको भनाइ छ।

गत जुन महिनामा युद्ध रोक्ने, हर्मुज स्ट्रेट खोल्ने र ६० दिनभित्र युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच एउटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। तर, सम्झौता भएको केही दिनमै एकअर्कामाथि आक्रमण शुरू भएपछि उक्त सहमति र कूटनीतिक प्रयासहरू असफल भएका थिए।

हाल अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसेनाको नाकाबन्दी जारी राखेको छ भने अर्कातर्फ यमनका इरान समर्थित हुथी विद्रोहीहरूले गत जुलाई २० देखि साउदी अरेबियाका लाल सागरस्थित बन्दरगाहहरूमा पनि अर्को नाकाबन्दी लगाएका छन्।

थियो ।

प्रकाशित: २१ साउन २०८३ ८:२२ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast