काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले प्रधानमन्त्री बालेन शाह ‘वालेन्द्र’को सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा प्रवेश गर्न थालेको आरोप लगाएकी छन्। उनले आज प्रतिनिधिसभामा बोल्दै नवलपरासी सुस्त पूर्वमा माटोको अस्थायी बाँध भत्काएर भारतले हस्तक्षेप गरेको बताइन्।
‘प्रधानमन्त्रीको सो गैरजिम्मेवार अभिव्यक्तिको जवाफ नआएसम्म र उक्त भनाइ संसदको रेकर्डबाट नहटाइएसम्म हाम्रो विरोध जारी रहनेछ। राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले हलुका टिप्पणी गर्नु विडम्बना हो,’ शर्माले भनिन् ।
प्रधानमन्त्रीको कार्यशैली लाचार भएको र उनका विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा एसएसबीको हेपाहा प्रवृत्ति बढेको उनको तर्क थियो। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा भइरहेको अतिक्रमणबारे पनि प्रश्न उठाइन् ।
सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि मधेसभरि फैलिएको साम्प्रदायिक भड्कावलाई नियन्त्रण गर्न सरकार ढिलो गरी तातेको उनले बताइन् । घटनामा ज्यान गुमाउनेहरूका लागि उचित क्षतिपूर्तिको माग गर्दै उहाँले सत्यतथ्य छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गरिन् ।


