सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन माग

हिमाल प्रेस १६ साउन २०८३ २०:४१ | Saturday, August 1, 2026
12
SHARES
सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन माग

बुटवल- नेपालमा परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन्।

देशभरका सात सयबढी सुनचाँदी व्यवसायीहरु सम्मिलित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औँ र १४ औँ वार्षिक साधारणसभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन्।

उनीहरुले सय अर्बभन्दा बढी लगानी रहेको सुनचाँदी व्यवसायीको कानुनी सुरक्षाका लागि छुट्टै ऐनको आवश्यकता रहेको औँल्याएका छन्।

ऐनको मस्यौदासमेत तयार भइसकेको बताउँदै व्यवसायीहरुले सरकारलाई प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण बैद्यले राज्यलाई कर तिरेर पनि व्यवसायीहरु ढुक्क हुने अवस्था नभएको बताउँदै सुनचाँदी व्यवसायीहरुको सुरक्षाका लागि ऐन जारी गर्नुपर्ने बताए।

उनले स्पष्ट नीति र नियम लागू गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय ऐन शीघ्र ल्याउन आफूहरुको तर्फबाट समेत पहल भइरहेको बताए। बैद्यले नेपालको मौलिक परम्परा, संस्कृतिमा समेत सुन, चाँदी र हिरामोती जस्ता गहनाहरुको महत्व रहेको उल्लेख गर्दै व्यवसायीको अर्बोको लगानीको सुरक्षा राज्यले गर्नुपर्नेमा जोड दिए।

यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृता विकले सुनचाँदी बहुमुल्य धातु भएको र यस्तो व्यवसायमा राज्यबाट पाउनु पर्ने सुविधा कम भएको विषयमा आफूहरुको ध्यान गएको बताइन्।

उनले वर्तमान सरकार र आफू सांसदको रुपमा व्यवसायीहरुको अप्ठ्यरामा साथ दिने उल्लेख गरिन्।

उनले सुनचाँदी व्यवसायमा लगाउँदै आएको करका कारणले उपभोक्ताहरुलाई परेको मारलाई समेत सरकारले ध्यान दिनुपर्ने बताइन्।

यस्तै पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माले सुनचाँदी व्यवसायका समस्याका बारेमा तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्ने बताए।

उनले सुनचाँदी व्यवसायीहरुको समस्याका बारेमा विगतदेखि नै आफूले सक्दो पहलकदमी गर्दै आएको बताउँदै व्यवसायीहरुको सुरक्षा हुनुपर्ने बताए।

उनले नेपाल उद्योग वाणिज्य संघले समेत सुनचाँदी व्यवसायलाई सोचेजति ध्यान दिन नसकेको बताए।

यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुनचाँदी व्यवसायमा नेपाली कारीगढहरु उत्पादन गर्नेतर्फ काम गर्नुपर्ने सुझाव दिए।

उनले बुटवलमा मात्रै ५ हजारभन्दा धेरै देश बाहिरका युवाहरु रोजगारीमा रहेको बताउँदै सीटईभीटीअन्तर्गतको पाठ्यक्रम बनाएर जनशक्ति उत्पादन गर्नुपर्ने बताए।

यस्तै कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीले सरकारले वार्षिक २० अर्बको हाराहारीमा राजस्वमा योगदान गर्दै आएको सुनचाँदी व्यवसायीहरुको सुरक्षा गर्न ऐन ल्याउन माग गरे।

उनले नीति नियमको अभावमा देवानी संहितामा सुनचाँदी गरगहनालाई नगद सम्पत्तिको रुपमा व्याख्या गरिए पनि खरिदबिक्री नगदसरहको मान्यता नपाएको बताए। उनले यही कारणले प्रहरी प्रशासनबाट पीडित हुनुपरेको गुनासो गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत समितिका नरेश राज श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णकुमार शर्मा, महासंघका सल्लाहकार रणेन्द्र बराईली, उद्योग वाणिज्य महासंघका प्रतिनिधिले बोल्दै व्यवसायीहरुको सुरक्षामा राज्यले चासो दिन नसकेको बताए।

उद्घाटनसत्रका अवसरमा स्वर्ण दर्पण स्मारिकाको विमोचनसमेत गरिएको थियो।

साधरणसभामा महासंघमा आवद्ध ८४ जिल्ला, नगर संघ, वस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु सहभागी छन्।

प्रकाशित: १६ साउन २०८३ २०:४१ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast