तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

हिमाल प्रेस १५ साउन २०८३ १३:५३ | Friday, July 31, 2026
6
SHARES
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि रु २५ अर्ब बराबरको दुईमहिने निक्षेप संकलनगर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको छ।

सूचनाअनुसार आज अपराह्न ३  बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबिएसएस) मार्फत मात्र बोलकबोल गर्न सकिनेछ।

निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज २०८३ असोज १४ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकका अनुसार न्यूनतम रु १० करोड र अधिकतम रु ५ करोडका गुणाङ्कमा कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकताका आधारमा स्वीकृत गरिने र समान ब्याजदर भएका प्रस्तावको कुल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा ‘प्रोराटा’ आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ।

संकलित निक्षेप अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गर्न नपाइने तर प्रचलित व्यवस्थाअनुसार एसएलआर तथा तरलता अनुपातमा गणना गर्न पाइने उल्लेख गरिएको छ।

प्रकाशित: १५ साउन २०८३ १३:५३ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast