काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेशका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि देखिएको साम्प्रदायिक हिंसा र तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाएर राष्ट्रिय संकट टार्न एकजुट हुन आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले भने,‘केही दिनदेखि तराई-मधेशका विभिन्न भागमा साम्प्रदायिक दंगा र हिंसा मच्चिँदै जाँदा ठूलो जनधनको क्षति हुनु र देशमा असहज परिस्थिति निर्माण हुनु अत्यन्त गम्भीर तथा राष्ट्रिय चिन्ताको विषय हो।’
वर्तमान परिस्थितिमा आवेगले विवेकलाई जिते अवस्था अझ जटिल बन्न सक्ने उनले बताए। उनले भने, ‘विवेकमाथि आवेग हावी हुँदै गयो भने अकल्पनीय परिस्थिति उत्पन्न हुन सक्छ। विभिन्न दृश्य-अदृश्य शक्तिले हस्तक्षेप गरी संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि नै खतरा सिर्जना गर्न सक्छन्।’
भट्टराईले सरकार, राजनीतिक दल, सबै जाति, धर्म र समुदायका नागरिक एकताबद्ध भएर संकट समाधानमा लाग्नुपर्नेमा जोड दिएका छन्। उनले भने,‘यतिबेला कुनै किन्तुपरन्तु नगरी सरकार, राजनीतिक दलहरू र सबै देशभक्त नागरिक एकढिक्का भएर यो आसन्न संकटलाई तुरुन्तै निमिट्यान्न पार्नुको विकल्प छैन।’
राज्य नेतृत्व, राजनीतिक दल र सामुदायिक नेताबीच ढिलै भए पनि संवाद र सहकार्य सुरु हुनु सकारात्मक भएको उनले बताए। ‘कसैका गल्ती-कमजोरीको समीक्षा पछि हुँदै गर्ला। पहिले यो घृणा, आवेग र आक्रोशको आगो निभाऔँ। देश र लोकतन्त्र रहे हामी सबै रहन्छौँ, अरू हिसाबकिताब हुँदै रहन्छ’ उनले भने।


