काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित देशका केही स्थानमा उत्पन्न साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेकी छन्।
बिहीबार जारी विज्ञप्तिमा उनले घटनामा दुई जनाको ज्यान गएको तथा अन्य केही व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका समुदायबीचको आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्व नै नेपाली समाजको गौरव र राष्ट्रिय शक्तिको आधार भएको बताएकी छन्। उनले कुनै पनि परिस्थितिमा यस अमूल्य परम्परालाई कमजोर हुन नदिन आग्रह गरेकी छन्।
उनले वर्तमान संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अपनाउन, अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन आग्रह गरेकी छन्।
कुनै एक घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यअनुकूल नहुने उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको स्वतन्त्र अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै एकअर्काको आस्था, संस्कृति र अधिकारप्रति सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेकी छन्। कानुनी शासन, आपसी विश्वास र निरन्तर संवादमार्फत मात्र यस्ता समस्याको दीर्घकालीन समाधान सम्भव हुने उनको धारणा छ।
उनले नेपाल सरकार, सम्बन्धित प्रशासनिक तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकको विश्वास पुनःस्थापित गर्न आवश्यक कदम चाल्न आग्रह गरेकी छन्।
विभिन्न राजनीतिक दलहरूले केन्द्रीय तथा प्रदेश तहमा सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्ने निर्णय गरेकोप्रति स्वागत व्यक्त गर्दै ती प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको संरक्षण तथा प्रवर्द्धनका लागि आआफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न आह्वान गरेकी छन्।


