काठमाडौँ- सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
ती मध्ये संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त तथा सुविधासम्बन्धी ऐन २०५३ संशोधन विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन २०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ संशोधन विधेयक तथा निजामती कर्मचारीसम्बन्धी ऐन २०१९ संशोधन विधेयक रहेका छन्।
यस्तै, मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को छैटौँ संशोधन नियमावली २०८३ लाई स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।


