काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन्।
सिंहदरबारमा भएको छलफलमा साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त विधेयक तथा अन्य कार्यसूची उपलब्ध गराउने र सदनको गरिमा कायम राख्ने विषयमा विचारविमर्श भएको थियो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मर्यादा, मूल्यमान्यता कायम गर्दै सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए।
उनले सत्तापक्ष, प्रमुख प्रतिपक्ष र विपक्षी दलले आआफ्नो जिम्मेवारी निर्वाह गर्दै जनताका अपेक्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड दिए।
सरकारले पर्याप्त ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले दसैँअघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताए।
शून्य र विशेष समयमा उठाइने विषयलाई समेत सदनको गरिमा र मर्यादाअनुकूल बनाउने विषयमा छलफल भएको उनले बताए।
नेपाल कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित बनाउन प्रत्येक दलको भूमिकाबारे छलफल भएको बताए।
सरकारले पटकपटक विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि हालसम्म दर्ता नगरेको उल्लेख गर्दै उनले सत्तापक्षीय दलले सरकारलाई विधेयक ल्याउन आग्रह गर्नुपर्ने धारणा राखेको बताए।
रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि साउन १४ गतेदेखि सुरु हुने बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको बताइन्। सरकारले सांसदहरू व्यस्त हुने गरी पर्याप्त विधेयकसहितको ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएको उनले बताइन्।
सत्तापक्ष र विपक्षीबीच देखिएका असहमतिका विषयमा सहमति खोज्ने प्रयास जारी रहेको उल्लेख गर्दै धितालले तीनचार दिनभित्र सहमति जुटाएर सदनलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरिन्।
छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सरकार सबैको हो भन्ने विश्वासको वातावरण निर्माण गर्ने प्रयास भइरहेको उनले बताइन्।


