सुनसरी- सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा लुटपाट, तोडफोड तथा आगजनी गरेका छन् भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले पूर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेको छ।
आइतबार दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
घटनापछि स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु उल्लंघन गर्दै सोमबार पनि प्रदर्शन जारी रहेपछि मंगलबार समेत कर्फ्यु यथावत् राखिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगन्ज र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा कर्फ्यु कायम रहेको छ।


