सुनसरी झडप अपडेट : ५ स्थानमा रातिदेखि नै कर्फ्यु

हिमाल प्रेस ११ साउन २०८३ ७:१६ | Monday, July 27, 2026
16
SHARES
सुनसरी झडप अपडेट : ५ स्थानमा रातिदेखि नै कर्फ्यु

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

दुईपक्षबिचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।

घटनमा प्रदर्शनकारी र प्रहरीतर्फ १६ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी आदेश जारी गरेका हुन्। राति १२:३० बजे जारी गरिएको उक्त आदेशमा तोकिएको सिमानाभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-क बमोजिम प्रशासनले यस्तो कदम चालेको हो। प्रशासनले कानुन हातमा लिनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ। प्रशासनद्वारा जारी आदेशमा भनिएको छ, ‘यस आदेशको कोही कसैबाट उल्लङ्घन भएमा एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्नेछ।’

प्रशासनले जिल्लाका पाँचवटा इलाकाको चारकिल्ला तोकेर उक्त सिमानाभित्र कर्फ्यु लगाएको हो। जसअनुसार इलाका ‘क’ अन्तर्गत हरिनगरा बजार क्षेत्रको पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्र तोकिएको छ। त्यसैगरी इलाका ‘ख’ अन्तर्गत भुटाहा बजार क्षेत्रको पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको सिमानामा कर्फ्यु लागू भएको छ।

इलाका ‘ग’ अर्थात् कसनागंज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल(भारत सीमा क्षेत्रसम्म आदेश लागू हुनेछ। यस्तै इलाका ‘घ’ अन्तर्गत घुस्की बजार क्षेत्रको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्मको चारकिल्ला तोकिएको छ।

इलाका ‘ङ’ अर्थात् देवानगंज बजार क्षेत्रको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको सिमानाभित्र कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।

 

प्रकाशित: ११ साउन २०८३ ७:१६ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast