काठमाडौँ- बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शुक्रबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका छन्। उनी पूर्वप्रधानमन्त्री शेख हसीनाका निकट सहयोगी मानिन्छन्।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले एएफपीसँगको टेलिफोन संवादमा आफूले राजीनामा दिएको पुष्टि गरेका छन्। ‘हो, मैले राजीनामा दिएको छु,’ उनले भने।
सन् २०२८ मा आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिएको कारणबारे शहाबुद्दिनले आफूले राजिनामा दिइसकेको बताए तर थप विवरण भने दिएनन्।
एएफपीलाई प्राप्त संसद् अध्यक्षलाई लेखिएको राजीनामा पत्रमा राष्ट्रपति शहाबुद्दिनले राजिनामा दिनुको कारण आफ्नो बिग्रँदै गएको स्वास्थ्य अवस्था भएको उल्लेख गरेका छन्।
‘शारीरिक र मानसिक क्षमतामा आएको गम्भीर ह्रासका कारण राष्ट्रपति जस्तो महत्वपूर्ण संवैधानिक पदको जिम्मेवारी ठीकसँग वहन गर्न अब सम्भव छैन,’ पत्रमा उल्लेख छ।
‘चुप्पु’ भनेर चिनिने ७६ वर्षीय राष्ट्रपति शहाबुद्दिन सन् २०२३ मा शेख हसीनाको अवामी लिगको समर्थनमा संसद्को बहुमतबाट राष्ट्रपति निर्वाचित भएका थिए।
सन् २०२४ मा विद्यार्थी विद्रोहले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएपछि राष्ट्रपतिलाई पनि हटाउनुपर्ने माग बढेको थियो।
शहाबुद्दिनमाथि गत मे महिनामा लन्डनमा उपचार गराइरहेका बेला शेख हसिनासँग फोनमा कुराकानी गरेको आरोप लागेको थियो, जसलाई उनले अस्वीकार गरेका छन्।
सत्तारूढ बंगलादेश नेशनलिस्ट पार्टीका गृहमन्त्री सलाहुद्दिन अहमेदले बिहीबार सरकारलाई राष्ट्रपतिले राजीनामा दिएको बारे कुनै जानकारी नभएको बताएका थिए।
‘उहाँले राजीनामा दिन चाहेमा संविधानअनुसार संसद् अध्यक्षलाई राजीनामा पत्र बुझाउनुपर्छ,’ उनले पत्रकारहरूसँगको कुराकानीमा भनेका थिए।-रासस/एएफपी


