नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन्।
४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएकाले मुलुक गम्भीर संकटमा परेको बताए।
उनले प्रतिगामी वा बाह्य शक्तिहरूले देशलाई अस्थिर बनाउन खोजिरहेको थाहा पाएर पनि त्यसलाई समयमै रोक्न आवश्यक तयारी गर्न नसकिएको स्वीकार गरे। उनले सोसल मिडियाको नकारात्मक प्रभावबाट युवाहरूलाई मुक्त गराएरमात्र राष्ट्रिय स्वाधीनता र क्रान्तिका लागि फेरि आन्दोलित गराउन सकिने धारणा राखे।
प्रचण्डले अहिले पनि प्रतिगामी, साम्राज्यवादी र तिनका स्थानीय एजेन्टहरूले प्रतिक्रान्ति पूरा गर्ने मिसन जारी राखेको दाबी गरे। उनले चीन र भारतबीचको नेपालको असंलग्न परराष्ट्र नीति र चीनविरोधी गतिविधि हुन नदिने परम्परागत अडान उल्लंघन गरिएको आरोप समेत लगाए।
प्रचण्डले मुलुकमा थप संकट आउन नदिन तत्काल पार्टी एकताभन्दा पनि साझा न्यूनतम कार्यक्रमका आधारमा तत्काल कार्यएकता र सहकार्य आवश्यक रहेको बताए।
उनले देशैभरिबाट लाखौँ जनतालाई काठमाडौँ र जिल्ला सदरमुकामहरूमा उतारेर जनदबाब सिर्जना गर्ने तयारी गर्नुपर्नेमा जोड दिए। प्रदेश सरकारका विषयमा प्रचण्डले पार्टीको मुख्य प्राथमिकता सरकारमा जानु नभई राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु रहेको बताए। तर प्रदेशका संवैधानिक संकटको अवस्था सिर्जना भए नेकपाले आवश्यक कदम चाल्ने उनको भनाइ छ।


