बाजुरामा पहिरोले खोला थुनिँदा बस्तीमा बाढी

हिमाल प्रेस ८ साउन २०८३ ९:३९ | Friday, July 24, 2026
8
SHARES
बाजुरामा पहिरोले खोला थुनिँदा बस्तीमा बाढी

बाजुरा- भारी वर्षापछि बाजुराको बडिमालिका नगरपालिका-९ स्थित सेलागाड क्षेत्रमा पहिरोले खोला थुनिँदा बस्तीमा बाढी पसेको छ। १६ घरपरिवार प्रभावित भएका छन् भने तीन परिवार विस्थापित भएका छन्।

शुक्रबार बिहान करिब साढे ३ बजे घरमाथिबाट झरेको पहिरोले सेलागाड खोला थुनिएपछि पानी बस्तीमा पसेको थियो। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार तथा राहतमा खटिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार बाढीका कारण तीन परिवारका घर बस्नै नमिल्ने अवस्थामा पुगेका छन्। ती परिवारका २२ जना खुला स्थानमा आश्रय लिएर बसेका छन्। थप १३ घरधुरी पनि जोखिममा परेपछि ८३ जना घर बाहिर सुरक्षित स्थानमा बसिरहेका छन्।

बाढी घरभित्र पसेपछि आत्तिएकी स्थानीय ३० वर्षीया एक महिला बेहोस भएकी थिइन्। जिल्ला अस्पतालमा उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बडिमालिका नगरपालिका-८ राप्कास्थित टोड्के सिँचाइ आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। आयोजनाको करिब २५ मिटर पक्की नहर र २३० मिटर प्लास्टिक पाइप बगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सैलेश्वरी बोहराको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थानीयका सामान सुरक्षित स्थानमा सार्न, उद्धार गर्न तथा जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गर्न सहयोग गरेको थियो।

प्रकाशित: ८ साउन २०८३ ९:३९ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast