डिजिटल सदस्यता प्रणालीमा कांग्रेस सबैभन्दा अघि : महामन्त्री पौडेल

हिमाल प्रेस ७ साउन २०८३ १६:०७ | Thursday, July 23, 2026
10
SHARES
डिजिटल सदस्यता प्रणालीमा कांग्रेस सबैभन्दा अघि : महामन्त्री पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल नेटवर्कसहितको सदस्यता प्रणाली लागू गरेर नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो डिजिटल राजनीतिक संगठन बनेको दाबी गरेका छन्।

बीपी स्मृतिमा जरा अभियानको समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै पौडेलले पार्टीका सबै क्रियाशील सदस्यको विवरण डिजिटल रूपमा अद्यावधिक गरिएको जानकारी दिए। उनले यसले कांग्रेसलाई अन्य राजनीतिक दलभन्दा अगाडि उभ्याएको बताए।

‘अब कांग्रेसका हरेक क्रियाशील सदस्यसँग डिजिटल आइडी हुनेछ। केन्द्रीय कार्यालयले डिजिटल नेटवर्कमार्फत सदस्यहरूसम्म सिधै सूचना पुर्‍याउन सक्छ, विज्ञापन गरिराख्नुपर्ने अवस्था रहने छैन,’ उनले भने,‘कांग्रेस नेतृत्वले अब हरेक सदस्यसँग प्रत्यक्ष संवाद गर्न सक्छ। डिजिटल नेटवर्कसहित सबैभन्दा धेरै सदस्य भएको पार्टी अहिले नेपाली कांग्रेस नै हो।’

उनले डिजिटल प्रणालीमार्फत नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद, पार्टीका रणनीति तथा दृष्टिकोण आदानप्रदान हुने र यसले संगठनलाई अझ प्रभावकारी बनाउने बताए।

पौडेलका अनुसार २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा रहेका जति नै क्रियाशील सदस्य आगामी असोजमा हुने १५औँ महाधिवेशनमा पनि कायम रहनेछन्।

‘पुस १० गतेसम्म सदस्यता नवीकरण गरेका करिब ८० प्रतिशत सदस्यले थप विवरण उपलब्ध गराएर आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन्, नयाँ सदस्यता वितरणको काम पनि निरन्तर भइरहेको छ,’ उनले भने।

महामन्त्री पौडेलले गगन थापाको नेतृत्वमा कांग्रेस अब थप व्यवस्थित, सिर्जनशील र जनमुखी ढंगले अघि बढ्ने दाबी गरे।

क्रियाशील सदस्यता वितरणमा कुनै बन्देज नरहेको उल्लेख गर्दै उनले १८ वर्ष उमेर पूरा गरी राजनीतिक दलको सदस्य बन्न योग्य जोसुकैले पनि क्रियाशील सदस्यता लिन सक्ने बताए।

युवाको सहभागिता बढाउन पार्टीले विशेष व्यवस्था गरेको उल्लेख गर्दै पौडेलले भने,‘३५ वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सदस्यसम्म बन्ने सुनिश्चित गरिएको छ। यही उमेर समूहबाट २१ जना केन्द्रीय सदस्य रहनेछन्। नयाँ क्रियाशील सदस्यता लिने युवाको संख्या पनि उत्साहजनक छ।’

प्रकाशित: ७ साउन २०८३ १६:०७ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast