चीन भ्रमणमा जाँदै रवि, होला त राष्ट्रपति सीसँग भेट?

हिमाल प्रेस ७ साउन २०८३ १६:५३ | Thursday, July 23, 2026
4
SHARES
चीन भ्रमणमा जाँदै रवि, होला त राष्ट्रपति सीसँग भेट?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा एक टोली चीन भ्रमणमा जाने तयारीमा छ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले  सरकारसँग तिब्बती मामिला, यहाँ हुने गोष्ठीसभा र दलाई लामाको जन्मोत्सव मनाएको बारेमा असन्तुष्टि  व्यक्त गरिरहेका बेला सत्तारुढ दलका सभापतिले बेइजिङ यात्राका लागि गृहकार्य थालेका हुन्।

नेपालमा भदौको दोस्रो साता तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनअन्तर्गत हुन लागेको गोष्ठीबारे राजदूत चाङले चीनको चासो प्रस्ट पार्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले त्यस्ता कार्यक्रमलाई दलाई लामाका समर्थकले उपयोग गर्न सक्ने भन्दै सरकारलाई सचेत रहिदिन आग्रहसमेत गरेका छन्।  चीनविरोधी कार्य र तिब्बतका पक्षमा बोल्न नेपालको भूमि उपयोग नहोस् भन्ने चीनको चाहना रहेको समेत उनले बताएको परराष्ट्र अधिकारीले स्पष्ट पारेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा लामिछाने नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल साउन अन्तिम साता बेइजिङ जाने तयारी छ। रास्वपा उच्च स्रोतले उनको चीन भ्रमणको पुष्टि गरे पनि मितिमा अझै गृहकार्य भइरहेको जानकारी दियो। रास्वपाकै अर्का एक नेताका अनुसार भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग सभापति लामिछानेको भेट गराउने प्रयास भइरहे पनि टुंगो लागिसकेको छैन।

रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागबीच समन्वय भइरहेको स्रोतले जनाएको छ। चिनियाँ उपराष्ट्रपति हान झेङ र परराष्ट्रमन्त्री वाङ यीसँग भेट हुने जानकारी भने बेइजिङले दिइसकेको छ।

‘उपराष्ट्रपति र परराष्ट्रमन्त्रीसँगको भेट लगभग निश्चित भइसकेको छ। राष्ट्रपति सीसँग पनि भेट मिलाएर मात्र जाने तयारी रहेको छ,’ स्रोतले भन्यो। यो भ्रमणको गृहकार्य जेठदेखि भइरहेको थियो। प्रारम्भिक योजनाअनुसार यसअघि नै भ्रमण सम्पन्न भइसक्ने थियो।तर चिनियाँ राष्ट्रपति सीको भेट मिलाउने कार्यले साउन अन्तिम सातासम्म भ्रमण गर्ने गरी तयारी अघि बढेको हो।

रास्वपाका अनुसार भ्रमणका क्रममा दुई देशका राजनीतिक दलबीचको सम्बन्ध, नेपाल-चीन द्विपक्षीय सहकार्य, आर्थिक विकास, व्यापार, सीमा व्यवस्थापन तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको परामर्शपछि चीन भ्रमणको तयारी अघि बढाएका हुन्। लामिछाने यसअघि भारतीय जनता पार्टी (बीजेपी)को निमन्त्रणामा गत जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा गएका थिए। पाँचदिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।

भारत भ्रमणअघि नै चिनियाँ पक्षले पनि लामिछानेलाई बेइजिङ भ्रमणको निमन्त्रणा दिएको थियो। तर उनले पहिले भारत भ्रमण गर्ने निर्णय गरेका थिए।

परराष्ट्रमन्त्री शिशिर खनालले गत जेठ अन्तिमतिर गरेको चीन भ्रमणका क्रममा लामिछानेको सम्भावित बेइजिङ भ्रमणका विषयमा समेत प्रारम्भिक समन्वय गरेका थिए। खनालले बेइजिङमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङ तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए।

खनालले चीन भ्रमणका क्रममा अनौपचारिक रूपमा गरिएको वार्ता पनि बाहिर ल्याएको चीनले हल्का रूपमा असन्तुष्टि व्यक्त गरेको थियो। उनी चीनका अर्का छिमेकी मुलुकबाट फर्किएलगत्तै त्यहाँको प्रसंगमा ‘अन्ततः छिमेकी नै चाहिन्छ’ भन्ने अभिव्यक्ति दिएको विषयलाई चीनले राजनीतिक सन्देशका रूपमा लिएको थियो।

रास्वपा नेतृत्वमा सरकार गठन भएपछि चीनले नेपालको ‘एक चीन नीति’प्रतिको प्रतिबद्धताबारे स्पष्ट सन्देश चाहेको र आफ्नो भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने विषयमा जोड दिँदै आएको छ। मन्त्री खनालले आफ्नो चीन भ्रमणका क्रममा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए।

स्रोतका अनुसार लामिछानेको चीन भ्रमण मुख्यतः नेपाल-चीन सम्बन्ध थप सुदृढ बनाउने, राजनीतिक संवाद विस्तार गर्ने तथा आर्थिक र विकास साझेदारीलाई अगाडि बढाउने विषयमा केन्द्रित रहनेछ। तर चीनले तिब्बतको विषयलाई भने गम्भीर रूपमा लिँदै आएको छ। उनीहरुले बाहिर सबै कुरा नभने पनि चिनियाँ राजदूतले गर्ने हरेक भेटमा यो विषय उठाएका छन्। यसमा सरकार गम्भीर नबनेमा चीनले कुनै न कुनै प्रकारको कदम चाल्न सक्ने एक कूटनीतिज्ञले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast