काठमाडौँ- विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकलाई आचार्यलाई उच्च अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। असार ३२ गते बसेको न्याय परिषद्को बैठकलाई उनलाई विशेष अदालतको अध्यक्षमा सिफारिस गरेको थियो। विशेष अदालतका अध्यक्ष रहेका न्यायाधीश सुदर्शनदेव भट्टको स्थानमा आचार्य सिफारिस भएका थिए।
न्यायिक क्षेत्रमा कानुनको गहिरो अध्ययन गर्ने, मुद्दाको मर्म छिट्टै बुझ्ने र समयमै फैसला गर्ने न्यायाधीशका रूपमा चिनिन्छन्। उनी कार्यरत रहेका अदालतहरूमा मुद्दा फर्छ्यौटको दर उल्लेखनीय रूपमा बढेको पाइएको छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता मुद्दाको अत्याधिक चाप रहने विशेष अदालतमा आचार्यले नेतृत्व सम्हालेपछि फैसलाको दरले गति लिने अपेक्षा गरिएको छ।
उच्च अदालत जनकपुरको राजविराज इजलासमा रहँदा आचार्यले सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीशका रूपमा परिचय बनाएका थिए। उच्च अदालत बुटवलमा रहँदा पनि उनले आफ्नो तीव्र कार्यसम्पादनलाई निरन्तरता दिए। थन्किएर रहेका मुद्दालाई किनारा लगाउने, सुनुवाइलाई प्रभावकारी बनाउन र समयमै फैसला दिन उनले सधैँ जोड दिए।
आचार्यले श्रम अदालत काठमाडौँमा अध्यक्ष रहेर श्रम अदालतको स्थापनाकालदेखिकै सबैभन्दा बढी मुद्दा फैसला गरेका थिए। मुद्दाको प्रकृति र जटिलता छिट्टै बुझ्ने, आवश्यक सुनुवाइलाई नलम्ब्याउने र प्रमाण तथा कानुनी आधारमा स्पष्ट निर्णय गर्ने उनको विशेष शैली रहँदै आउको छ।
पछिल्लो समय उच्च प्रोफाइलका भ्रष्टाचार मुद्दा बढ्दै गएका बेला मुद्दा व्यवस्थापनमा दक्ष र छिटो फैसला गर्ने न्यायाधीशको नेतृत्वले विशेष अदालतको प्रभावकारिता थप बढ्ने अपेक्षा गरिएको छ।

