बर्नहम बन्दैछन् बेलायतका नयाँ प्रधानमन्त्री

हिमाल प्रेस २ साउन २०८३ १४:५४ | Saturday, July 18, 2026
12
SHARES
बर्नहम बन्दैछन् बेलायतका नयाँ प्रधानमन्त्री

काठमाडौँ- लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।

उनले गत महिना राजीनामा दिएका किअर स्टार्मरलाई प्रतिस्थापन गर्ने भएका हुन्।

सत्तारुढ लेबर पार्टीको नेताका रूपमा स्टार्मरको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बर्नहम एक्लो उम्मेदवार बनेका थिए। बेलायती संसदीय परम्पराअनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ।

बर्नहमले लेबर पार्टीका ४०१ सांसदमध्ये ३४९ जनाको समर्थन प्राप्त गरेपछि शुक्रबार पार्टीको विशेष सम्मेलनबाट उनलाई नेता घोषणा गरिएको थियो।

यद्यपि उनी औपचारिक रूपमा सोमबार मात्र प्रधानमन्त्री बन्नेछन्। त्यसका लागि उनले बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयसँग भेट गरी सरकार गठनको निम्तो प्राप्त गर्नेछन्। त्यसअघिसम्म स्टार्मरले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

आम निर्वाचन किन आवश्यक परेन?

बेलायतको संसदीय व्यवस्थामा आम निर्वाचनविना नै सत्तारुढ दलले आफ्नो नेता परिवर्तन गर्न सक्छ। प्रधानमन्त्रीले दलको नेतृत्वबाट राजीनामा दिएमा वा नेतृत्व चुनौतीका कारण पद छोडेमा सो दलले आन्तरिक प्रक्रियाबाट नयाँ नेता चयन गर्न सक्छ। नयाँ नेता नै संसदमा बहुमत भएको अवस्थामा प्रधानमन्त्री बन्ने व्यवस्था छ।

बेलायतमा अर्को आम निर्वाचन सन् २०२९ सम्म गर्नुपर्ने छैन। सन् २०२४ को निर्वाचनपछि लेबर पार्टीले बहुमतसहित सरकार गठन गरेको थियो।

स्टार्मरले गत जुन २२ मा लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका थिए। उनको नेतृत्व विभिन्न विवाद र राजनीतिक चुनौतीका कारण आलोचित बनेको थियो।

विशेषगरी यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँग सम्बन्धित व्यक्तिलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने निर्णयले उनलाई थप दबाबमा पारेको थियो।

मे महिनामा भएको स्थानीय निर्वाचनमा लेबर पार्टीले ठूलो पराजय बेहोरेपछि पार्टीभित्र स्टार्मरको नेतृत्वमाथि प्रश्न उठेको थियो। बर्नहमले संसदको उपनिर्वाचन जितेपछि उनी पार्टी नेतृत्वका लागि बलियो दाबेदार बनेका थिए।

लेबर पार्टीको नियमअनुसार नेतृत्व चुनौती दिन हाउस अफ कमन्समा रहेका पार्टीका कम्तीमा २० प्रतिशत सांसदको समर्थन आवश्यक पर्छ। बर्नहमले आवश्यक समर्थन सजिलै जुटाएपछि उनी निर्विरोध नेता चयन भएका हुन्।

१० वर्षमा सातौँ बेलायती प्रधानमन्त्री

बर्नहम एक दशकभित्र बेलायतका सातौँ प्रधानमन्त्री बन्नेछन्। संसदीय प्रणालीका कारण बेलायतमा आम निर्वाचनबाहेक पनि प्रधानमन्त्री परिवर्तन हुने गरेको छ।

पछिल्लो दशकमा चार जना प्रधानमन्त्री आम निर्वाचन जितेर नभई पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धामार्फत सत्तामा आएका थिए।

कन्जरभेटिभ पार्टीका थेरेसा मे र बोरिस जोनसन आफ्ना पूर्ववर्तीको राजीनामापछि प्रधानमन्त्री बनेका थिए।

त्यस्तै सन् २०२२ मा जोनसनले पद छोडेपछि लिज ट्रस प्रधानमन्त्री बने। तर ४९ दिनमै उनले राजीनामा दिएपछि सोही प्रक्रियाबाट ऋषि सुनक प्रधानमन्त्री बनेका थिए।

बर्नहमको आगमनसँगै पछिल्लो दशकमा बेलायती राजनीतिमा प्रधानमन्त्री परिवर्तनको क्रम अझै तीव्र बनेको छ। युरोपेली संघबाट बेलायत बाहिरिने निर्णय (ब्रेक्जिट) पछिका राजनीतिक र आर्थिक चुनौती व्यवस्थापनमा यस अवधिका सरकारहरू आलोचनामा पर्दै आएका छन्।

सत्ता हस्तान्तरणको परम्परागत प्रक्रिया

बेलायतमा प्रधानमन्त्री परिवर्तनको प्रक्रिया लामो समयदेखि स्थापित परम्पराअनुसार हुँदै आएको छ। सोमबार स्टार्मरले बकिङ्घम दरबार पुग्नुअघि जनताका नाममा बिदाइ सम्बोधन गर्ने र राजासमक्ष औपचारिक राजीनामा बुझाउनेछन्।

त्यसपछि बर्नहम दरबार पुग्नुनेछन्, जहाँ राजा चार्ल्स तृतीयले उनलाई सरकार गठन गर्न औपचारिक निम्तो दिनेछन्। बेलायती परम्परामा यस प्रक्रियालाई ‘किसिङ अफ ह्यान्ड्स’ भनिन्छ। यद्यपि अहिले सामान्यतया हात मिलाएर औपचारिकता पूरा गरिन्छ।

दरबारबाट बाहिरिएपछि बर्नहम बेलायतका ५९ औँ प्रधानमन्त्री बन्ने र त्यसपछि लन्डनस्थित प्रधानमन्त्रीको सरकारी निवास ‘टेन डाउनिङ स्ट्रिट’ पुगेर पहिलो सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २ साउन २०८३ १४:५४ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast