पच्चीस जनाको ज्यान लिएको धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा

हिमाल प्रेस १ साउन २०८३ ११:४७ | Friday, July 17, 2026
2
SHARE
पच्चीस जनाको ज्यान लिएको धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा

चितवन- पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ। हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो।

बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान धुर्वे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ।

रेडियो कलरले १०-१० मिनेटमा सूचना दिइरहेको उनले जानकारी दिए। हात्तीलाई डार्ट गरेपछि हर्मन नियन्त्रण गर्ने औषधीसमेत चलाइएको छ।

हात्तीको दुईवटै दाह्रा छ इञ्च काटिएको छ। चौथो पटक ध्रुर्वेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको उनले जानकारी दिए।

धुर्वे हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उनले बताए।

हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो। हालसम्म उक्त हात्तीले २५ जनाको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको हो।

हात्तीले २०७४ मा नेपाली सेनाका एक सेनानी (मेजर) लाई आक्रमण गरेर मारेको थियो। निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुर्वेले विसं २०६८/६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि २०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो।

तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ। ध्रुर्वे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो।

विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको धुर्वेले २०६९ सालसम्म १५ जनालाई मारेको थियो।

निकुञ्जमा रोनाल्डो, गोविन्दे, धुर्वेलगायत मत्ता छन्। प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन्।

प्रकाशित: १ साउन २०८३ ११:४७ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast