जलविद्युत आयोजना कार्यान्वयनलाई तीव्रता दिन नेपाल-भारतबीच सहमति

हिमाल प्रेस ३१ असार २०८३ २०:०५ | Wednesday, July 15, 2026
16
SHARES
जलविद्युत आयोजना कार्यान्वयनलाई तीव्रता दिन नेपाल-भारतबीच सहमति

काठमाडौँ- नेपाल र भारतबीच ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) को १३ औँ बैठक बुधबार पोखरामा सम्पन्न भएको छ।

दुई देशबीच जलविद्युत परियोजनाहरुको विकास, विद्युत व्यापार तथा प्रसारण पूर्वाधार विस्तारलगायत क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ बैठक आयोजना गरिएको हो।

बैठकको सहअध्यक्षता नेपाल सरकारका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले गरेका थिए।

यसअघि मंगलबार पोखरामै संयुक्त कार्यदल (जेडब्ल्यूजी) को १३ औँ बैठक सम्पन्न भएको थियो। यस प्राविधिक बैठकको सहअध्यक्षता नेपालका ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारतको विद्युत मन्त्रालयका सहसचिव पंकज कुमारले गरेका थिए।

बैठकमा दुवै पक्षले नेपाल र भारतबीच कनेक्टिभिटी बढाउन निर्माणाधीन ४०० केभी गोरखपुर–बुटवल क्रस बोर्डर प्रसारण लाइनसहितका नयाँ प्रसारण लाइनहरुको विकासमा भएका प्रगतिको प्रशंसा गरेका छन्।

यस्तै हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा निर्माण हुने जलविद्युत र प्रसारण आयोजनाहरुको कार्यान्वयनलाई अझ तीव्रता दिने र आइपर्ने अवरोधहरुलाई तत्काल सहजीकरण गर्ने सहमति दुई पक्षबीच भएको छ।

बैठकमा परम्परागत जलविद्युत व्यापारका अतिरिक्त नयाँ प्रविधि र वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि विस्तृत छलफल भएको छ।

बैठकमा ग्रिड समन्वय, वैकल्पिक ऊर्जा, ग्रीन हाइड्रोजन, क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल भएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।

बैठकमा भाग लिन आएका भारतीय ऊर्जा सचिव अग्रवालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग शिष्टाचार भेटवार्ता समेत गरेका थिए।

भेटका क्रममा दुवै जनाबीच दुई देशको ऊर्जा साझेदारीलाई रणनीतिक रुपमा अघि बढाउने विषयमा सकारात्मक कुराकानी भएको थियो।

प्रकाशित: ३१ असार २०८३ २०:०५ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast