अर्जेन्टिनासँगको खेलअघि इंग्ल्यान्डका प्रशिक्षक चर्चामा, उनी के भन्छन्?

हिमाल प्रेस ३१ असार २०८३ ११:१५ | Wednesday, July 15, 2026
22
SHARES
अर्जेन्टिनासँगको खेलअघि इंग्ल्यान्डका प्रशिक्षक चर्चामा, उनी के भन्छन्?

सन् २०१५ मा एन्थोनी ब्यारी इंग्ल्यान्डको तल्लो डिभिजन क्लब एक्रिङ्टन स्ट्यान्लीका खेलाडी थिए। उनको खेल जीवन अन्त्यतिर पुगिसकेको थियो र उनले क्लबको अन्डर-१६ टोलीसँग प्रशिक्षकका रूपमा पहिलो पाइला चाल्दै थिए।

११ वर्षपछि अहिले मात्र ४० वर्षका ब्यारी इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेलको सहायकका रूपमा विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध हुने खेलमा बेन्चमा रहनेछन्। इंग्ल्यान्डले सन् १९६६ यता पहिलो पटक पुरुष विश्वकपको फाइनल पुग्ने लक्ष्य राखेको छ।

यस विश्वकपमा खेलका मध्यावधिमा (हाफटाइम) टेलिभिजनमा दिएका स्पष्ट र निसंकोच अन्तर्वार्ताका कारण पनि ब्यारी चर्चामा छन्।

यसअघि उनी चेल्सी, बायर्न म्युनिख, पोर्चुगल र बेल्जियमको राष्ट्रिय टोलीजस्ता विश्व फुटबलका प्रतिष्ठित टोलीसँग प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। तल्लो डिभिजनका खेलाडीबाट विश्वकप सेमिफाइनलसम्मको उनको यात्रा आधुनिक फुटबलकै सबैभन्दा प्रेरणादायी उकालोमध्ये एक मानिन्छ।

टुखेलसँगको अनौठो साझेदारी

लिभरपुलमा जन्मिएका ब्यारी आफूलाई टुखेलको यिन’ र टुखेललाई आफ्नो ‘याङ’ भन्दै मजाक गर्छन्। उनीहरूबीचको उचाइ र पृष्ठभूमिको ठूलो फरकका कारण उनीहरूको साझेदारी कहिलेकाहीँ अनौठो देखिने उनी स्वयं स्वीकार गर्छन्।

ब्यारी सधैं टुखेल नै टोलीका प्रमुख भएको बताउँछ्न्। उनीहरूबीच करिब आठ इन्चको उचाइको अन्तर भएकाले आफूहरूलाई ‘सानो र ठूलो’ जोडी भन्दै ठट्टा पनि गर्छन्।

तल्लो डिभिजनबाट सुरु भएको यात्रा

इंग्ल्यान्ड टोलीका अधिकांश खेलाडीको करिअर शीर्ष क्लबबाट सुरु भए पनि ब्यारीको यात्रा भने निकै फरक थियो। उनले अधिकांश खेल जीवन इंग्ल्यान्डका तल्लो डिभिजनमा बिताए।

२० वर्षअघि उनी एक्रिङ्टन स्ट्यान्ली टोलीका सदस्य थिए जसले कन्फ्रेन्स लिग जितेर ४४ वर्षपछि पुनः फुटबल लिगमा स्थान बनाएको थियो।

बीबीसीसँग कुरा गर्दै उनले भने,‘यो प्रश्न सुनेर म आफैं छक्क परें। साँच्चै २० वर्षअघि म एक्रिङ्टन स्ट्यान्लीसँग लिग जितिरहेको थिएँ?’

ल्याम्पार्डदेखि टुखेलसम्म

खेल जीवन समाप्त भएपछि ब्यारीले विगन एथलेटिकमा सहायक प्रशिक्षकका रूपमा काम सुरु गरे। युइएफए प्रो लाइसेन्स कोर्सका क्रममा फ्र्याङ्क ल्याम्पार्डलाई प्रभावित पारेपछि उनी सन् २०२० मा चेल्सीको पहिलो टोलीका प्रशिक्षक नियुक्त भए।

जनवरी २०२१ मा ल्याम्पार्डको स्थानमा थोमस टुखेल चेल्सी आए पनि उनले ब्यारीलाई टोलीमै राखे। केही महिनामै चेल्सीले यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्यो।

यसबीच ब्यारीले अन्तर्राष्ट्रिय फुटबलमा पनि सहायक प्रशिक्षकका रूपमा आफ्नो प्रभाव बढाए। उनले सुरुमा आयरल्यान्ड गणतन्त्र, त्यसपछि रोबर्टो मार्टिनेजसँग बेल्जियम र पछि पोर्चुगलको राष्ट्रिय टोलीमा काम गरे।

यस क्रममा उनले विश्वकप र युरोपियन च्याम्पियनसिप दुवै प्रतियोगितामा प्रशिक्षकका रूपमा अनुभव बटुले। साथै क्रिस्टियानो रोनाल्डो र केभिन डे ब्रुइनेजस्ता विश्वस्तरीय खेलाडीसँग काम गर्ने अवसर पाए।

सेट-पिसका विशेषज्ञ

ब्यारीलाई नयाँ सोच भएका ऊर्जाशील प्रशिक्षकका रूपमा चिनिन्छ। उनी विशेषगरी सेट-पिस रणनीतिका विशेषज्ञ मानिन्छन्।युइएफए प्रो लाइसेन्सका लागि तयार गरेको आफ्नो शोधपत्रमा उनले १७ हजार थ्रो-इनको विश्लेषण गरेका थिए। सन् २०२३ मा टुखेल बायर्न म्युनिख पुगेपछि ब्यारी पनि पुनः उनीसँग जोडिए।

ब्यारी भन्छन्,‘एक युवा अंग्रेज प्रशिक्षकका लागि टुखेलजस्ता प्रशिक्षकसँग काम गर्नु ठूलो अवसर हो। मेरो विचारमा उहाँ विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक हुनुहुन्छ र अहिले उहाँ आफ्नो उत्कृष्ट लयमा हुनुहुन्छ।’

उनले थपे,‘प्रतियोगिताको दबाबबीच उहाँ अझ राम्रो देखिनुहुन्छ। खेलाडीहरूले पनि त्यो महसुस गरिरहेका छन्। हामी धेरै समय सँगै बिताउँछौं, एकअर्कालाई अझ राम्रो बन्न प्रेरित गर्छौं र त्यसको प्रभाव टोलीमा पनि पर्छ।

टुखेलको मुख्य सहयोगी समूहमा ब्यारी मात्रै अंग्रेज प्रशिक्षक हुन् यद्यपि जस्टिन कोक्रेन पनि विस्तारित प्रशिक्षक समूहमा छन्। हेन्रिक हिलारियो, निको मेयर र जेम्स मेलबोर्नले पनि टुखेल र ब्यारीसँग सन् २०२८ सम्म नयाँ सम्झौता गरेका छन्।

‘टोली भावना नै हाम्रो इन्धन हो’

टुखेलले राष्ट्रिय टोलीमा क्लबजस्तो वातावरण बनाउन चाहेको कुरा पटकपटक दोहोर्‍याएका छन्। ब्यारीका अनुसार विश्वकप जित्न त्यसको ठूलो महत्व हुन्छ। उनले अप्रिलमा बीबीसी स्पोर्टसँग भनेका थिए, गाडी चलाउने पेट्रोल भनेको टोली भावना हो।’

विश्वकपमा इंग्ल्यान्डले डीआर कङ्गो र मेक्सिकोविरुद्ध कठिन अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको थियो। ब्यारी भन्छन्,‘मेक्सिकोविरुद्धको खेल हेर्ने जो-कोहीले टोलीको ऊर्जा भरिपूर्ण रहेको देख्न सक्थ्यो। प्रशिक्षण मैदान, होटल र खेलाडीबीचको सम्बन्ध हेर्दा टोलीसँग बस्न पाउनु नै सुखद अनुभव हो।’

विश्वकपअघि आफूहरूलाई खेलाडीसँग जम्मा ५० दिनजति मात्र प्रशिक्षण गर्ने अवसर मिलेको उल्लेख गर्दै उनले टोलीबीचको सम्बन्धलाई प्राथमिकता दिएको बताए।‘यति छोटो समयमा उत्कृष्ट फुटबल निर्माण गर्न निकै कठिन हुन्छ भन्ने हामीलाई थाहा थियो। त्यसैले हामीले टोली भावना र दाजुभाइको सम्बन्ध निर्माण गर्न जोड दियौं।’

शैलीभन्दा नतिजा महत्वपूर्ण

इंग्ल्यान्डले विश्वकपमा केही आकर्षक क्षण देखाए पनि सबै खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। टुखेलले प्रिमियर लिगको शारीरिक शैलीलाई टोलीको बल बनाउन खोजेका छन्।

अमेरिकाको अत्यधिक गर्मी र पानी पिउन दिइने ब्रेकका कारण खेलको लय फरक बनेको छ। तर ब्यारीका अनुसार सबैभन्दा ठूलो चुनौती भनेको छोटो समयमा धेरै खेल खेल्नु हो।

यदि इंग्ल्यान्ड फाइनल पुग्यो भने समूह चरणको अन्तिम खेलदेखि २२ दिनभित्र उसले छ खेल खेलिसकेको हुनेछ। ब्यारी भन्छन्, ‘यसमा हामीलाई कुनै आश्चर्य लागेको छैन। दुई खेलबीचको हरेक घण्टा कसरी प्रयोग गर्ने भन्ने योजना पहिल्यै बनाएका थियौं-आराम, प्रशिक्षण, खानपान सबैमा ध्यान दिएका थियौं। तालिका चुनौतीपूर्ण थियो तर सबै ४८ टोलीका लागि अवस्था उस्तै थियो।’

१८ महिनादेखिको सपना

गत वर्ष टुखेल र ब्यारी अमेरिकामा आयोजित क्लब विश्वकप हेर्न पुगेका थिए। उनीहरूले प्रशिक्षण केन्द्र, पूर्वाधार र मैदानको अवस्थासमेत अध्ययन गरेका थिए। चेल्सीले त्यहाँ सफलता पाएपछि उनीहरूलाई पनि अमेरिकामा अंग्रेज टोलीले उपाधि जित्न सक्छ भन्ने विश्वास बढेको थियो।

जनवरी २०२५ मा इंग्ल्यान्डको जिम्मेवारी सम्हालेयता आफूहरू विश्वकप जित्ने सपना बोकेर काम गरिरहेको ब्यारी बताउँछन्। उनी भन्छन्,‘हामी १८ महिनादेखि यही सपना देखिरहेका छौं। उच्चस्तरीय खेलमा सपना देख्नु अत्यन्त आवश्यक हुन्छ। तर मेहनतबिना सपना केवल सपना मात्र रहन्छ।’

उनले आफू र टुखेल दुवै फुटबलप्रति ‘स्वस्थ रूपमा आसक्त’ रहेको उल्लेख गर्दै सबैभन्दा ठूलो उपाधि जित्ने लक्ष्यका लागि आफूहरू पूर्ण रूपमा समर्पित रहेको बताए।

‘म त आफ्नो काम गरिरहेको मान्छे मात्रै हुँ’

विश्वकपमा हाफटाइम अन्तर्वार्ताले ब्यारीलाई निकै चर्चित बनाएको छ। विशेषगरी क्रोएसियाविरुद्ध पहिलो खेलमा पहिलो हाफको प्रदर्शनबारे उनले दिएको टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उनी हाँस्दै भन्छन्, ‘अरूले मलाई हाफटाइम स्टार भनिरहेका छन्, तर म आफूलाई स्टार मान्दिनँ। म त आफ्नो काम गरिरहेको मान्छे मात्रै हुँ।’

उनले थपे,‘हाफटाइममा अन्तर्वार्ता दिने निर्णय गर्दा थोमस र ममध्ये कसले दिने भन्ने कुरा भयो। हामीले कुनै खेलाडीमाथि त्यो जिम्मेवारी राख्न चाहेनौं। थोमसले पहिले नै धेरै मिडियासँग कुरा गर्नुहुन्छ, त्यसैले यो जिम्मेवारी मैले लिएको हुँ।’

प्रकाशित: ३१ असार २०८३ ११:१५ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast